जीवा लामिछाने
क्यानाडा र अमेरिकाको सिमानामा रहेको सेन्ट लरेन्स नदीमा साना ठूला गरी १८०० वटा टापुहरु छन् । यी टापुहरुलाई ‘थाउजेन्ड आइल्यान्ड्स’ भनिन्छ । रुसको एउटा प्रचलित लोकोक्ति “धनी मानिसका आफ्नै चालचलन र रीतिथिती” (у богатых людей свои обычаи) भनेझैँ यहाँका धनाढ्यहरु पनि थाउजेन्ड आइल्यान्डसमा आराम गृह वा कन्ट्री हाउसको नाम दिएर महल निर्माण गर्ने होडबाजी चल्दै आएको छ । यहाँका ससाना टापुहरुमा सिङ्गो एउटा मात्र महल देखिन्छ भने अलिक ठूला टापुहरुमा केही महलहरु निर्माण गरिएका छन् ।
क्यानाडा र अमेरिका दुवैतिरबाट प्रत्येक दिन क्रुज र लाइनरबाट थाउजेण्ड आइल्यान्ड्समा हजारौं पर्यटक घुम्न आउने गर्दछन् ।
आइल्यान्ड्सका सयौं घरहरुभन्दा निक्कै पृथक देखिने ‘बोल्डट क्यासल’ नामको महल छ । यो महलको कथा भारतको प्रसिद्ध ताजमहलको जस्तै वियोगान्त छ ।

सन् १९०० मा न्युयोर्क निवासी जर्ज बोल्डट नामका एक अर्बपति होटेल व्यवसायीले आफ्नी पत्नी लुईजा बोल्डटको जन्म दिनमा उपहार दिनका लागि चार वर्ष लगाएर यो महल निर्माण गरेका थिए । यो उनको सरप्राईजड गिफ्ट थियो पत्नीको जन्म दिनका लागि । १२० कक्ष रहेको यो महल परिसरमा के मात्र छैन ! आफ्नै पावरहाउस, इटालियन वगैँचा, याख्ट पार्किंग हाउस, टेनिस कोर्ट, गल्फ कोर्ट, तबेला, पोलो फिल्ड आदि सबै कुरा छन् ।

तर यो महलको निर्माण सकिनै लाग्दा जसका लागि महल निर्माण गरिएको थियो तिनैको निधन हुन पुग्यो । सन् १९०४ मा जर्जकी पत्नी लुइजाको अकस्मात निधन भयो । महल निर्माणको अन्तिम तयारीमा जुटेका तीन सय कालीगढहरुलाई न्युयोर्कबाट जर्जले ‘निर्माण कार्य तुरुन्त स्थगन गर्नु’ भनेर टेलिग्राम पठाए ।
पत्नीको निधनपछि जर्ज यति धेरै विरक्तिए कि उनी आफ्नो जीवकालभरि त्यो भवनमा फर्केर गएनन् । पत्नीविनाको पीडादायी एक दशक समय विताएपछि जर्जको पनि निधन भयो ।
त्यसपछि यो प्रेममहल हुरिबतास, हिउँपानी आदिले खण्डहरमा परिणत भयो । ७४ वर्षपछि भने यो प्रेम महललाई विश्वका पर्यटकका लागि आकर्षणको केन्द्रको रुप दिइयो । सन् १९७८ मा थाउजेंड आईल्यान्ड्स अथरिटीले यो महललाई १ डलरमा खरिद गरी अर्को १५ मिलियन डलर खर्च गरेर पुनर्निर्माण गर्यो । यो ठाउँ अहिले पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र भएको छ ।
यसर्थ यो महलसँग जोडिएको प्रेम कहानी ताज महलको कहानीभन्दा कम छैन । फरक यत्ति मात्र छ, ताज महल एक बादशाहले आफ्ना जनतालाई २० बर्ष दास बनाएर निर्माण गरेका थिए १ तर यो महल एक धनाढ्यले माया गरेकी आफ्नी पत्नीको जन्मदिनको उपहारका लागि मेहनतले आर्जन गरेको कर तिरेको पूँजी खर्चेर बनाएका हुन् ।
ती महान् प्रेमाशक्त धनाढ्यलाई हार्दिक अभिवादन !
(सबै तस्वीरहरु : जीवा लामिछाने)













