२७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौं जिल्ला समिति संयोजकमा युवा नेता लेखनाथ न्यौपाने आएका छन् ।
गत साता बसेको पार्टीको ३ नम्बर प्रदेश बैठकले स्थायी समिति सदस्य न्यौपानेलाई काठमाडौं जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
३ नम्बर प्रदेशको इन्चार्जमा रामबहादुर थापा ‘बादल’ छन् । बादलको चाहनामा न्यौपानेलाई काठमाडौं संयोजकको जिम्मेवारी दिइएको हो ।

न्यौपाने बादल नेतृत्वमा नेकपा क्रान्तिकारी माओवादीबाट नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रियामा आएका हुन् । काठमाडौं इन्चार्जमा भने फेरि स्थायी समिति सदस्य झक्कु सुवेदीले जिम्मेवारी पाएका छन् ।
न्यौपानेले नयाँ जिम्मेवारीअनुसार काम थालेको बताए । ‘साथीहरुसँग कार्यविभाजनका बारेमाछलफल गरिरहेको छु’, न्यौपानेले भने । एकताअघि माओवादी केन्द्र काठमाण्डुको अध्यक्ष हिमाल शर्मा थिए ।
शर्मा हालै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको स्वकीय सचिव नियुक्त भएका छन् । काठमाडौं विशेष जिल्ला भएको र काठमाण्डु जिल्ला मातहत पार्टीका धेरै संरचना रहेकाले स्थायी समिति सदस्यबाटै नेतृत्व गर्ने निर्णय भएको न्यौपानेले बताए ।










