२५ साउन, काठमाडौं । चन्द्रगिरि केवुलकार चढेर एकै दिन १० हजारभन्दा बढी मानिसले भालेश्वर महादेवको दर्शन गरेका छन् । चन्द्रगिरि हिल्स लिमिटेडद्वारा निर्मित चन्द्रगिरि केबुलकारले २४ गते सोमबार स्थानीयवासिन्दालाई प्रदान गरेको निःशूल्क सेवा प्रयोग गर्दै १०,६४१ जनाले गएको सोमबार भालेश्वर महादेवको नवनिर्मित मन्दिरमा पूजाअर्चना गरेका हुन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेलका स्थानीय वासिन्दालाई मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिनमा आमन्त्रण गरिएको चन्द्रगिरि हिल्सले जनाएको छ ।
सोमबार वैदिक विधिबाट मन्दिरको प्राणप्रतिष्ठा गरिएको थियो । पहिलो दिनमा अत्यधिक दर्शनार्थीको सहभागिताले आफूहरुलाई उत्साहित बनाएको संचालक अम्बिका पौडेलले बताए । उनले प्रतिक्रिया दिँदै भने प्रतिदिन १० हजारभन्दा बढी व्यक्तिलाई चन्द्रागिरि चुच्चुरोमा पुर्याउने लक्ष्य रहेकोमा पहिलो दिनमै १० हजारभन्दा बढी व्यक्तिहरुलाई सफलतापूर्वक सेवा दिन सकेकोमा हामी हर्षित भएका छौं ।
यसैबीच चन्द्रागिरि केबुल कारले मंगलबारबाट दर्शनार्थीहरुका लागि केबुलकारलाई आंशिक संचालनमा ल्याएको छ । चुच्चुरोमा निर्माण गरिएका संरचनाहरु पूरा हुन अझै बाँकी रहेको तर मन्दिरको दर्शन गर्नका लागि सर्वसाधारणबाट दवाव आएकोले दुईतर्फी भाडादर ७०० रुपैयाँ निधारण गरी आंशिक संचालनमा ल्याइएको पौडेलले जानकारी दिए । ७ सय भाडामा नेपाल सरकारको १३ प्रतिशत भ्याट र स्थानीय सेवा शूल्क २ प्रतिशत समेत समावेश छ । अर्थात् सेवा उपयोग गर्ने महानुभावले समग्रमा ७०० रुपैयाँभन्दा बढी शूल्क तिर्नुपर्दैन ।
परम्परागत रुपमा शिला राखेर भालेश्वर महादेवको पूजा गरिँदै आएकोमा चन्द्रगिरि हिल्स लिमिटेडले यहाँ मन्दिर निर्माण गरेको हो । पौराणिक कालदेखि पूजा गरिने शिलारुपी भालेश्वर महादेवलाई मन्दिरभित्र वैदिक विधिद्वारा स्थापना गरिएको छ ।
काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रगिरिको उचाइ २६५१ मिटर रहेको छ । पर्यटकीय दृष्टिले यस चन्द्रगिरि पहाडका प्रमुख तीन विशेषता रहेका छन् । धार्मिक, ऐतिहासिक र प्राकृतिक सुन्दरता यस पहाडका विशेषता हुन् ।















