२३ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवहरुलाई २८ बुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बोलाएर सचिवहरुलाई २८ बुँदे निर्देशन दिएका हुन् । नतिजा देखिने गरी काम गर्न, प्रशासनमा सुधार गर्न तथा विकास निर्माणका काममा भइरहेका ढिलासुस्ती अन्त्य गर्न सचिवहरुलाई निर्देशन उनले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नियम, कानून र योजना बनाउने तर त्यसको प्रभावकारी कार्यान्वयनमा चासो नदिने प्रशासनिक परिपाटीका कारण आमजनताले सरकारी सेवालाई सकारात्मक रुपमा लिने नगरेको भन्दै यसतर्फ सचिवहरुको ध्यान जानुपर्ने बताए । उनले सरकारी निकायबाट हुने सेवा प्रवाहमा आम जनताले परिवर्तनको महसुश गर्न पाउनुपर्ने भन्दै यसमा सचिवहरुले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले नयाँ ऐन कानून भएन भनेर बहानाबाजी गर्नुभन्दा पनि भइरहेकै ऐन कानूनको कार्यान्वयन गरेर सेवा प्रवाहमा सुधार गर्न सचिवहरुलाई निर्देशन दिएको बैठकमा सहभागी उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालय मातहतका निकायअन्र्तगत संचालित एवं आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका ठूला आयोजनाका कार्य प्रगतिबारे तीन दिनभित्र विवरण पेश गर्न पनि सचिवहरुलाई निर्देशन दिएका छन् ।












