२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा गठित सरकारले पूर्णता पाउन अझै केही दिन लाग्ने देखिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाआवद्ध संघिय गठबन्धनलाई पनि सरकारमा समोबश गर्ने कसरतमा रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनले छलफल जारी राखेकाले सरकारले पूर्णता पाउन अझै समय लाग्ने देखिएको हो ।
मन्त्री बन्ने आकांक्षी व्यवस्थापन गर्न कठिन भएकोले दुवै दलको शीर्ष नेतृत्वले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेका छन् । यसका साथै काँग्रेस भातृसंगठन नेपाल विद्यार्थी सघको महाधिवेशन, पदको आकांक्षी धेरै, राप्रपा र राप्रपा नेपालवीचको पार्टी एकीकरण लगायतका कारणले मन्त्री परिषद् विस्तारमा ढिलाई भइरहेको नेताहरुको भनाई छ ।
३ बुँदे सहमति गरेको संघीय गठबन्धनसँग पनि सरकारमा आउने विषयमा छलफल भइरहेकाले मन्त्रिपरिषद्ले तत्काल पुर्णता पाउन नसक्ने माओबादी केन्द्रका प्रबक्ता पम्फा भूषालको भनाई छ ।
यस्तै सत्तारुढ नेपाली कांग्रेसले पनि आज सुरु हुने आफ्नो विद्यार्थी संगठन नेविसंघको महाधिवेशनपछि मात्र सरकारमा सहभागी हुने नेताको नाम तय गर्ने जनाउदै आएको छ ।












