साउन २२, रसुवा । चीन जोड्ने तातोपानी नाका अवरुद्ध भएको एक वर्ष हुँदा पनि खुल्न सकेको छैन । रसुवागढी र केरुङ जोड्ने नाका पनि पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको छ । यसले सामान ओसारपसारदेखि दुई देशीय पर्यटकहरु समस्यमा परेका छन् ।
चीनको केरुङनजिकै पहिरो जाँदा रसुवागढी–केरुङ मार्ग तीन दिनदेखि अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि नेपालबाट केरुङतर्फ सामान लिन जान लागेका सयौं मालबाहक कन्टेनर रसुवागढी नाकामै रोकिएका छन् ।
रसुवागढीदेखि केरुङसम्मको २६ किलोमिटर सडकको ६ ठाउँमा पहिरो गएको जनाइएको छ ।
नेपालतर्फ रसुवागढी नाकामा पहिरोको जोखिम भएकाले आफूहरुलाई थप समस्या भएको चालकहरुले बताएका छन् ।
यस्तै, सडक अवरुद्ध भएपछि केरुङ नाकाबाट चिनियाँ पर्यटकहरु पैदलयात्रा हुँदै नेपाल भित्रिएका छन् ।












