२१ साउन, काठमाडौं । सत्य निरुपण तथा मिलमिलाप आयोग एवं बेपत्ता नागरिक छानविन आयोगले द्वन्द्वकालीन घटनाको छानविन अगाडि बढाइरहेका वेला गोरखा फुजेलकी गंगामाया अधिकारीले फेरि आमरण अनशन बस्ने चेतावनी दिएकी छिन् । छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै आएकी गोरखाको फुजेलकी गंगामाया अधिकारीले हत्यामा संलग्नलाई कारवाही नगरिए ५ दिनपछि आमरण अनसनमा वस्ने घोषणा शुक्रबार गरेकी हुन् ।
गंगामायाले शुक्रबार वीर अस्पतालको ७ नम्बर क्याबिनबाट छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको दायरामा नल्याए पाँच दिनपछि औषधी र पानी पनि नखाने घोषणा गरेकी छिन् । आफूले किटानी जाहेरी दिएका फुजेलकै छविलाल पौडेल, भीमसेन पौडेल लगायतलाई पाँच दिनभित्र कारवाहीको दायरामा ल्याइनुपर्ने गंगामायाको माग छ ।
गंगामायाले संचारकर्मीसँग कुरा गरिरहेका बखत मानवअधिकारकर्मी चरण प्रसाईं र दिनेश त्रिपाठी पनि वीर अस्पताल पुगेका थिए । प्रसाईं र त्रिपाठीले संचारकर्मीसँग बोल्ने विषयबारे गंगामायालाई सिकाएका थिए । २०६१ सालमा माओवादी कार्यकर्ताबाट मारिएका छोराको हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै गंगामाया अनसन बसेको साँढे चार वर्ष भइसकेको छ । हत्यामा संलग्नमाथि कारवाहीको माग गर्ने क्रममा अनसन बसेको ३ सय ३४ औं दिनमा गंगामायाका पति नन्दप्रसादको निधन भएको थियो ।
अधिकारी परिवारलाई माओवादी विरोधीका रुपमा चिनिएका कनकमणि दीक्षित र दिनेश त्रिपाठी लगायतका व्यक्तिले अनावश्यक रुपमा उचालेको विश्लेषण हुँदै आएको छ । कांग्रेस नेताहरुले समेत अधिकारी परिवारको यो अडानबारे डलरमणिलाई सोध्नू भन्ने जवाफ संचारकर्मीहरुलाई दिइसकेका छन् । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नेवित्तिकै गंगामायाको मुद्दा चर्काउनु र उनलाई बोल्न समेत सिकाउन त्रिपाठी पुग्नुले घटना रहस्यमय मानिएको छ । त्रिपाठी तिनै व्यक्ति हुन् जसले केही समयपहिले प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए ।
डाक्टर गोविन्द केसीलाई उचालेर लोकमानविरुद्ध दीक्षित परिवारले प्रयोग गरेको समाचार आइरहेको वेला फेरि माओवादीविरुद्ध गंगामायाको मुद्दा उचालिएको हो कि भन्ने आशंका जन्मिएको छ ।












