२१ साउन, काठमाडौं । राप्रपा नेपालले राजदूतहरुको सिफारिश फिर्ता गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएको छ ।
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले अघिल्लो सरकारले गरेको निर्णय अहिलेको सरकारले उल्ट्याउनु आपत्तिजनक भएको ठहरसहित यसबाट अराजकता मौलाउने चेतावनी दिएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा अघिल्लो सरकारका परराष्ट्रमन्त्री थिए । एमालेसँगको लामो किचलोपछि राप्रपा नेपालको भागमा परेका राजदूतलाई राम्रो देश पारिएको थियो । पहिले गरेको मन्त्रीपरिषद्को निर्णयलाई पछिल्लो मन्त्रीपरिषद् बैठकले देश साटफेर गर्ने निर्णय गर्दै थापाले आफ्ना नेता निरञ्जन थापालाई राम्रो देश पारेका थिए ।
आखिर त्यति ठूलो कसरत काम नलाग्ने भएपछि थापाले प्रचण्ड सरकारको निर्णयको आलोचना गरेका हुन् । थापाकै प्रस्तावमा अघिल्लो सरकारले राजदूतहरुको नाम सिफारिश गरेको थियो । अघिल्लो सरकारको सिफारिस फिर्ताको निर्णयपछि राप्रपा नेपालको कोटाका निरञ्जन थापा र अर्का एक व्यक्ति राजदूत बन्ने पक्का भएको थियो ।












