२१ साउन, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको ११ औं महाधिवेशन सुरु हुन अब एक दिन मात्र बाँकी हुँदा नेतृत्वमा पुग्न विद्यार्थी नेताहरु तँछाडमछाडमा लागेका छन् । कतिपय विद्यार्थीहरु नेताको निगाहमा गुटको टिकट पाउने दौडमा लागेका छन् भने कतिपय साना गुटका विद्यार्थीले वार्गेनिङका लागि अध्यक्ष पदको उम्मेदवार बन्ने चेतावनी दिइरहेका छन् । नेताहरु पनि आआफ्नो पक्षका विद्यार्थीहरुलाई मिलाउन लागि निरन्तर छलफलमा लागेका छन् ।
साउन २३ गते आइतबार काठमाडौंमा सुरु हुने महाधिवेशनमा ३२ सय प्रतिनिधि सहभागी हुँदैछन् भने नेतृत्व हत्याउने दौडमा विभिन्न असन्तुष्टीका स्वरहरु समेत जारी छन् ।
महाधिवेशनको उद्घाटन दिउसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । नेविसंघले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई हालसालै खिचिएको तीन प्रति फोटोसहित आफ्नो परिचय स्पष्ट खुल्ने परिचय पत्र नागरिकता वा लाइसेन्सका साथ सहभागी हुन आग्रह गरेको छ ।
महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट प्रतिनिधि राजधानी आउने क्रम सुरु भएको छ । नेविसंघका अनुसार प्रचार प्रसार, होटल बुकिङ्, नीति कार्यक्रम तथा शैक्षिक दस्तावेज लेखन सबै कार्य सकिएको छ ।
नेविसंघले सबै जिल्लाको प्रतिनिधिको नामावली बुझाई सकेको छ ।
महाधिवेशनका लागि एक करोड ७८ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ । आर्थिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पार्टीले लिएको छ । नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेस एकीकरण भएपछि हुन लागेको नेविसंघको यो पहिलो महाधिवेशन हो ।
महाधिवेशनमा सभापति देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र नेता कृष्ण सिटौला पक्ष नेतृत्वमा पुग्ने कसरतमा लागेका छन् । मुख्य प्रतिश्पर्धा देउवा र पौडेल पक्षीय उम्मेदवारकाबीच हुने भए पनि आधा दर्जनभन्दा बढी व्यक्ति अध्यक्षका आकांक्षी देखिएका छन् । कतिपय पाको उमेरका आकांक्षीहरुलाई पार्टीमै जिम्मेवारी दिने गरी मिलाउने कसरतमा नेताहरु लागिरहेका छन् । नेविसंघको आसन्न महाधिवेशनकै कारण कांग्रेसभित्र मन्त्री पदको भागवण्डामा समेत किचलो जारी रहेको छ ।












