२१ साउन, काठमाडौं । नयाँ मन्त्री भएर आउनेवित्तिकै फूलमाला लिएर स्वागत गर्ने मन्त्रालयका कर्मचारीहरुले तिनै मन्त्रीलाई सडकमा अपमान गरेर विदाइ गरेभन्दा अनौठो मान्नु पर्दैन । त्यस्तै व्यवहार गरे खेलकुद मन्त्रालयका कर्मचारीले निवर्तमान खेलकुद मन्त्री सत्यनारायण मण्डललाई विहीबार ।

विशिष्ट व्यक्तिकै हैसियतमा विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथमा निम्त्याइएका मण्डललाई फर्कने क्रममा भने अपमानित गरेर डेरा फर्काउने काम कर्मचारीहरुले गरेका छन् । राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर र्फकने क्रममा बाटोमै मण्डलको गाडी खोसेर अपमान गरिएको हो । बाटोमै गाडी खोसिएपछि मण्डल हिँडेर आफ्नो डेरा पुगेका थिए ।
बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि पुल्चोकको मन्त्री क्वार्टर छाडेर मण्डल बानेश्वरमा डेरा सरेका थिए।
शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा मण्डले आफूले प्रयोग गर्दै आइरहेको झन्डावाल गाडी नयाँ मन्त्रीका लागि फर्काइदिएका थिए ।
त्यसपछि उनले डेरासम्म् पुग्न आफ्नो सचिवालयले प्रयोग गरेको सेतो रङको गाडी झिकाएका थिए । तर मन्त्रालयका कर्मचारीले त्यो गाडी लान नदिएपछि उनी मध्यबानेश्वरबाट झन्डै डेढ किलोमिटरभित्र रहेको डेरामा हिँडेरै पुगेका थिए ।
जिम्मेवारीबाट मुक्त भएको २४ घण्टा पनि नबित्दै मन्त्रालयका कर्मचारीले देखाएको व्यवहारबाट निवर्तमान मन्त्री मण्डल दुःखी बनेका थिए ।











