१९ साउन, काठमाडौं । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएर लाजिम्पाट निवासमा पुग्नेवित्तिकै नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइ बधाइ दिन पुगेका छन् । चिनियाँ राजदूत चुन्ताइ नयाँ प्रधानमन्त्री प्रचण्डलाई वधाइ दिने पहिलो कुटनीतिज्ञ बनेका छन् । चिनियाँ राजदूतको यो व्यवहारले भारतले भन्दा पहिले प्रचण्डलाई चीनले बधाइ दिन चाहेको देखाएको छ ।
चिनियाँ राजदूत पुगेर निस्किने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर प्रचण्डलाई बधाइ दिएका थिए । ओली सरकार ढल्नेवित्तिकै अबको सरकार भारतको भन्दै प्रचार गर्ने भारतीय संचारमाध्यमलाई यसले झटका दिने देखिएको छ ।
भारतले आफ्नो रुचिमा बनाएको भनिएको प्रचण्ड नेतृत्वको सरकार चीनतिर देखिने गरी त नढल्केला तर भारतले भन्दा पहिले चीनले बधाइ दिएको कुराले भारतको मन अलिकति चिसो हुने संकेत देखिएको छ ।












