१९ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्ड निवास लाजिम्पाटमा रौनकता छाएको छ । प्रचण्डका भाइ नारायण दाहाल र भतिजा समीर दाहालको फुर्तिफार्ति बढेको छ ।
समीर दाहाललाई स्वकीय सचिवबाट हटाउन पार्टीले गरेको निर्णयका कारण विगत केही समय समीरलाई प्रचण्डले छाडेका थिए । अघिल्लो प्रधानमन्त्रीकालमा प्रचण्डका स्वकीय सचिव रहेका समीर फेरि स्वकीय सचिवकै भूमिकामा रहने देखिएको छ ।
प्रचण्डका भाइ नारायण दाहाल भने प्रचण्डको गृहजिल्ला चितवनमा दीपावली गर्न कार्यकर्ताहरुलाई उर्दी दिएका छन् । ‘एमालेलाई देखाउने गरी अध्यक्षको गाउँ, नारायणघाट बजार र टाँडी गरी तीन ठाउँमा भव्य दीपावली गर्नू । मान्छे थोरै हुने भए भने कांग्रेसहरुलाई पनि बोलाउनू ।’ दाहालले संचारकर्मीकै अगाडि फोनमा निर्देशन दिँदै भने ।












