रवि प्याकुरेल
१९ साउन, भक्तपुर । निर्वतमान प्रधानमन्त्री केपीले सरकार छाड्नुपरेको पीडा पोख्दै नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले चर्को व्याज चुकाउनुपर्ने चेतावनी दिएका छन् । सरकारी निवास छाडेर बालकोटस्थितिआफ्नो निजी निवास पुगेका ओलीले सरकार बनाउने नाउँमा नेकपा माओवादी केन्द्रले अन्य दलहरुसँग चर्को व्याजमा उधारो तमसुक गरेको टिप्पणी गरे ।
संसद भवन नयाँ बानेश्वरबाट कार्यकर्ताका साथ निजी निवास भक्तपुरको बालकोट पुगेका ओलीले कार्यकतालाई संबोधन गर्दै सरकार बनाउन माओवादीले कांग्रेसदेखि साना १६ दलसँग चर्को व्याजमा उधारो तमसुक गर्दै आठ महिनाका लागि सरकार कवुलियतनामामा लिएको टिप्पणी गरे । अबको ६–७ महिनाभित्र त्यही उधारो तमसुकले नै सरकारलाई अप्ठेरोमा पार्ने उनको भनाई छ । ओलीले आफ्नो ९ महिनाको सरकारले विकासको बाटो कोरिदिएको भन्दै अबको २० वर्षसम्म पनि मुलुक त्यही बाटोबाटै अघि बढ्नुपर्ने दावी गरे । उनले विकास निर्माणका कार्य सम्पन्न गर्नका लागि पैसा ठूलो कुरो नभएको भन्दै यसका लागी योजना चाहिने धारणा व्यक्त गरे ।

उनले विगतमा एमालेले संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गरेको तर्क गर्दै अब संविधान कार्यान्वयनमा पनि अग्रहणी भूमिका निर्वाह गर्ने जिकिर गरे । नयाँ सरकारको कामलाई मुल्याङ्कन गरी त्यसको विरोध र समर्थन गर्ने ओलीले बताए ।











