१८ साउन, काठमाडौं । नयाँ सरकारमा सहभागी हुने/नहुने विषयमा राप्रपा नेपालभित्र विवाद् देखिएको छ । यही विषयमा चर्किएको विवादका कारण सोमबार बसेको बैठक समस्याकै बीचमा टुंगिएको छ ।
विवाद्का कारण राप्रपा नेपालको मंगलबार अपरान्ह सिंहदरबारमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक विना निर्णय टुंगिएको हो । करिब पाँच घण्टा लामो बैठकमा नेताहरुले विभाजित मत राखेपछि बैठक अनिर्णित भएको हो ।
बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा कुन पक्षमा मतदान गर्ने भन्ने विषयमा निर्णय लिन राप्रपा नेपालले बैठक गरेको थियो । बैठकमा धारणा राखेका कतिपय नेता र सांसद्ले नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको अवस्थामा सरकारमा सहभागी हुँदा नै पार्टीलाई फाइदा हुने बताए । उनीहरुले प्रतिपक्षमा बस्दा पार्टी एमालेको छायाँमा पर्ने भन्दै सरकारमा जानुपर्ने बताएका हुन् । तर कतिपय नेता र सांसद्हरुले भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले विनाकारण सरकार ढालेको भन्दै नयाँ सरकारमा कुनै हालतमा जान नहुने बताए । बैठकमा मिश्रित धारणा आएको र पार्टी एकीकरण गर्ने भनिएको राप्रपाले पनि कुनै धारणा सार्वजनिक नगरेका कारण बुधबार विहान ९ बजे बसेर निर्णय गर्ने गरी बैठक स्थगित गरेको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
संसद्को चौंथो ठूलो शक्ति राप्रपा नेपालसँग २५ जना सांसद् छन् ।












