१८ साउन, काठमाडौं । भारतले हडपेको नेपाली भूभाग फिर्ता गर्नका लागि जारी रहेको ग्रेटर नेपाल आन्दोलनका लागि चीनले चासो राखेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई चीनमा आमन्त्रण गरी चीनले यसबारे चासो राखेको हो । चीनको ‘गुडविल च्यारिटी’ को निमन्त्रणामा नेपालले बेइजिङ्ग र छेन्दुको दश दिने भ्रमण गरेर नेपाल फर्किएका छन् ।
बेइजिङ्गमा रहँदा उनले चिनियाँ राष्ट्रपतिका प्रमुख सल्लाहकार प्रो. लि सिक्वाङ्ग, नेपालका लागि चीनका पूर्व राजदूत ली त प्याओ र चिनियाँ कम्युनिष्ट पार्टी स्टेट काउन्सिलका पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए । ग्रेटर नेपालबारे जानकारी लिन चीनले आफूलाई दोश्रो पटक चीन निम्त्याएको दावी उनले गरे ।
अध्यक्ष नेपालले उक्त भेटघाटका अवसरमा ग्रेटर नेपालको नक्सा र अन्य सन्दर्भ सामग्री सम्बन्धित व्यक्तिहरुलाई उपलब्ध गराएका थिए । चिनियाँ राष्ट्रपतिका प्रमुख सल्लाहकार ली सिक्वाङसँग उनले दक्षिणी चिनियाँ समुद्रका टापुहरुमाथिको विवाद, अरुणाचल प्रदेश र ग्रेटर नेपालबारे गम्भीर छलफल गरेका थिए । उनले नेपालका लागि चिनियाँ पुर्व राजदूत ली तप्याओसँग अर्थपूर्ण भेटघाट दावी गरेका छन् । ग्रेटर नेपालको नक्सा बुझाएपछि चिनियाँ पूर्वराजदूत लीले ग्रेटर नेपालको विषयलाई गम्भीर भन्दै भारतसँग चीनको लामो सिमा विवाद रहेको र समान प्रकृतिका यस्ता मुद्दामा चीन र नेपाललले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।
उक्त अवसरमा गे्रटर नेपालका अध्यक्षले आफू भारत विरुद्ध चीनको ढोका ढकढकक्याउन नभएर हङकङ र मकाओ चीनमा पुनः एकीकृत भए झँै सुगौली सन्धिमा गुमेर विगत लामो समयदेखि भारतको अधीनमा रहेको करिब ६० हजार वर्ग किमी जमिन नेपालले फिर्ता पाउनुपर्ने आफ्नो मागबारे चीनको नेतृत्वलाई जानकारी गराउन आएको बताएका थिए ।












