१५ साउन, काठमाडौं । सप्तरीको तिलाठीमा भएको भारतीय हस्तक्षेपको प्रतिवाद स्थानीय जनताले गरे पनि त्यसको राजनीतिक जस लिने तयारी एमालेले गरेको छ । भारतीयसँगको भिडन्तमा घाइते भएका देवनारायण यादवलाई काठमाडौं ल्याएर मनमोहन अस्पतालमा उपचार गराउनेदेखि प्रधानमन्त्री केपी ओलीसँग भेटाउने योजना एमालेका युवा नेताले गरेका छन् ।
एमालेका युवा नेताहरुले ‘राष्ट्रिय स्वाधिनताका लागि युवा अभियान’ नामक अनौपचारिक समूह गठन गरी यादवलाई सोही समुहको पहलमा काठमाडौं ल्याइएको हो ।
यादवलाई विराटनगरबाट जहाजमार्फत शनिबार काठमाडौं ल्याइएको हो ।
उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौंमा रहँदा लाग्ने खर्च अभियानले नै जुटाउने जानकारी विज्ञप्तीमार्फत दिइएको छ ।
ठाकुर गैरे संयोजक रहेको अभियानमा रामकुमारी झाँक्रीलगायतका युवा नेताहरु रहेका छन् ।












