१५ साउन, काठमाडौँ । काठमाडौं उपत्यकाका १४ ठाउँमा भेटिएको ग्यासलाई संकलन गरेर वितरण गर्ने योजना अगाडि बढाइएको छ । उपत्यकामा रहेको ग्यासले २० वर्षसम्म ५० हजार परिवारलाई खाना पकाउन पुग्ने निश्चित भएसँग इमाडोलमा ग्यास प्लान्ट बनाएर संकलन गरी जनतालाई वितरण गर्ने तयारी गरिएको हो ।
मिथेन ग्यास पाइएर इनारसमेत खनिइसकेको अवस्थामा खानी तथा भूगर्भ विभागले उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने कार्यमा जुटेको छ ।
विभागले अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो ।
विभागका प्रवक्ता कृष्णदेव झाले पहिलेका पुरिएका ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउन कार्य भइरहेको आज जानकारी दिए। “पहिलेका १४ भन्दा फरक ठाउँमा हामीले ग्यास पत्ता लगाइरहेका छौँ”, उनले भने – “त्यसका लागि बजेट विनियोजन गरेर कार्य सुरु गरिसकेका छौँ ।”
यसअघि उपत्यकामा १४ ठाउँमा मिथेन ग्यास पाइएर इनारसमेत खनिइसकेको छ । तर अहिले इमाडोलमा रहेको इनारबाहेक सबै पुरानो भएकाले बन्द रहेको अवस्थामा छन् ।
इमाडोलस्थित खरिबोट क्षेत्रमा रहेको इनार भने ग्यास भण्डारण गर्नका लागि गतवर्ष पुनः खनिएको थियो ।
भारतीय नाकाबन्दीका कारण ग्यास अभाव भएपछि सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो । उहाँका अनुसार अहिले विभागले विभिन्न ठाउँमा गएर अध्ययन गरिरहेको छ । “पहिले ग्यास पत्ता लगाउँछौँ । अनि कति ग्यास निस्कन्छ, त्यो पत्ता लगाउँछौँ”, उनले भने– “अनि ग्यासलाई सङ्कलन गछौं।”
विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले ग्यास पत्ता लगाई यसै आवमा इनार खनिने जानकारी गराए ।
सरकारले सन् १९८२ मा टेकुमा रहेको मिथेन ग्यासलाई प्लान्ट बनाई प्रयोगमा ल्याएको थियो ।
एक अध्ययनले उपत्यकामा रहेको ग्यासले २० वर्षसम्म ५० हजार परिवारलाई खाना पकाउन पुग्ने तथ्य सार्वजनिक गरेको थियो ।
यसैगरी विभागले उपत्यकामा रहेका ग्यास भण्डारण गर्नका लागि मोबाइल ग्यास परीक्षण प्लान्ट बनाउन थालेको छ ।
शाखा प्रमुख श्रेष्ठले उपत्यकामा रहेको ग्यास कति मात्रामा रहेछ पत्ता लगाई सङ्कलन गर्नका लागि प्लान्ट बनाउन थालिएको बताए ।
उनका अनुसार करिब रु २० लाखमा प्लान्ट बनाउन थालिएको छ ।
“ग्यास सङ्कलनका लागि अरु ठाउँमा पनि लैजान सकिने भएकाले मोबाइल प्लान्ट बनाउन थालेका हौँ”, उनले – “पहिलो चरणमा हामीले इमाडोलमा रहेको ग्यासलाई प्लान्टमा जम्मा गर्छौँ ।”
यसअघि टेकुमा मिथेन ग्यास सङ्कलनका लागि बनाइएको प्लान्ट बिग्रिएर थन्किएको छ ।












