१३ साउन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले संविधानसँग सम्बन्धित आफ्ना माग सम्बोधनका विषयमा ठोस धारणा नआए नयाँ सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मोर्चा र गठबन्धन दुवैको सहयोगमा नयाँ सरकार गठनको तयारी गरिरहेका बेला गठबन्धनको विहिवार संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले माग सम्बोधन गर्ने विषयमा दुई दलबाट ठोस धारणा नआए सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । गठबन्धनका संयोजक उपेन्द्र यादवले प्रदेशको सीमांकनसँग सम्बन्धित माग सम्बोधनका विषयमा समझदारी नभएको अवस्थामा गठबन्धन मिस्टर ए बी सीलाई भोट हाल्न वाध्य नहुने बताए ।
बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना र तराई मधेश सद्भावना पार्टीका शिर्ष नेता भने अनुपस्थित थिए । संघीय गठबन्धनले स्थानीय तहको पुनसंरचनाको काम रोक्न माग गरेको छ । गठबन्धनले प्रदेशको सीमांकनको विषयमा विवाद् कायम रहेका बेला स्थानीय तहको संरचनाको काम अगाडि बढाइनु संघीयतालाई नै धरापमा पार्ने षड्यन्त्र भएको आरोप लगाउँदै प्रादेशिक संरचनाको टुंगो नलागेसम्मका लागि स्थानीय तहको सीमा र संख्या निर्धारणको काम रोक्न माग गरेको हो ।
गठबन्धनले तराईका जिल्लाहरुमा भएको डुबानको समस्यालाई सरकारले गम्भिर रुपमा नलिएको आरोप लगाउँदै उद्दार र राहत वितरणमा गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताको टोली परिचालन गर्ने निर्णय गरेको छ ।












