१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड तय गरेको छ ।
माओवादी केन्द्रको सचिवालयको विहिवार पार्टी मुख्यालयमा बसेको बैठकले मन्त्री छनोटका लागि मापदण्ड तय गरेको हो । मन्त्री हुनका लागि नेताहरुको दैलो चहार्नेहरुको संख्या बढेपछि माओवादी केन्द्रले मापदण्ड तय गरेको हो । यद्यपि, बैठकले तय गरेका मापदण्ड सार्वजनिक गरिएको छैन । पार्टी प्रवक्ता पम्फा भुसालले काम गर्न सक्ने क्षमता भएकाहरुलाई समानुपातिक र समावेशी प्रतिनिधित्व मिलाएर मन्त्री बनाउने निर्णय भएको तर व्यक्तिका बारेमा भने टुङ्गोमा पुग्न बाँकी रहेको जानकारी दिइन् ।

नेकपा एमाले नेतृत्वका सरकारमा सहभागी भएकाहरु पनि नयाँ सरकारमा मन्त्री हुनका लागि इच्छुक देखिएपछि माओवादी केन्द्रमा मन्त्री छनोटको काम जटील बनिरहेको छ । प्रवक्ता भुसालले मापदण्ड तय भइसकेकाले अब मन्त्री छनोट गर्न समस्या नहुने भन्दै फेरि बैठक बसेर मन्त्री बन्नेको नाम टुङ्गो लगाउने बताइन् ।
सचिवालयको बैठकमा सरकारको प्राथमिकताका विषयमा समेत छलफल भएको छ । भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, संविधानमा व्यवस्था गरिएका स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन, असन्तुष्ट पक्षका माग सम्बोधन, उर्जा संकट लगायतका विषयलाई नयाँ सरकारले प्राथमिकता दिने माओवादी केन्द्रको निर्णय छ ।











