११ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा जारी गरेको वाधा अड्काउ फुकाउ आदेश व्यवस्थापिका संसद्ले अनुमोदन गरेको छ ।
व्यवस्थापिका संसद्को मंगलबार दोस्रो पटक बसेको बैठकले बाधा अड्काउ फुकाउ आदेश वहुमतले अनुमोदन गरेको हो । सरकारको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सोमबार वाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध संसद्मा पेश भएको अविश्वासको प्रस्ताव वहुमतले पारित हुने पक्का भएपछि संविधानको धारा २ सय ९८ अनुसार नयाँ सरकार गठन हुन नसक्ने भन्दै राजिनामा दिनु पहिले मन्त्रीपरिषद्को बैठक बोलाएर वाधा अड्काउ फुकाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेका थिए ।
मंगलबारको बैठकमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसद्ले धारा २ सय ९८ ले नयाँ सरकार गठनको प्रष्ट व्यवस्था गरेपनि प्रधानमन्त्री ओलीले आत्मसन्तुष्टिका लागि बाधा अड्काउ फुकाउन सिफारिस गरेको आरोप लगाए । काँग्रेस सांसद् रमेश लेखकले वाधा अड्काउ फुकाउ आदेश जारी गर्न लगाएर सरकारले राष्ट्रपतिको दुरुपयोग गरेको आरोप लगाउँदै भविष्यमा वाधा अड्काउ फुकाउ आदेश दुरुपयोग भए त्यसको जिम्मा नेकपा एमालेले लिनुपर्ने बताउनुभयो भने नेकपा माओवादी केन्द्रका सांसद् रामनारायण बिडारीले बाधा अड्काउ फुकाउ आदेश र खोलो नै नभएको स्थानमा पुल बनाउनु एकै भएको बताए ।
तर नेकपा एमालेका सांसद् कृष्णभक्त पोखरेलले भने धारा २ सय ९८ ले नयाँ सरकार गठनको प्रष्ट व्यवस्था नगरेका कारण सरकारले संविधान अनुसार गरेको सिफारिस बमोजिम राष्ट्रपतिले वाधा अड्काउ फुकाउ आदेश जारी गरेको बताए ।
सांसद्हरुले बोल्ने क्रम सकिएपछि जवाफ दिन रोष्टममा पुगेका कानूनमन्त्री अग्नीप्रसाद खरेलले नयाँ सरकार गठन गर्ने बाटो प्रष्ट गरेर सरकारले के गल्ती ग¥यो भनी प्रश्न गरे ।
कानूनमन्त्री खरेलको जवाफपछि बाधा अड्काउ फुकाउ आदेश वहुमतले अनुमोदन भयो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसद्हरुको सहयोगमा बाधा अड्काउ फुकाउ आदेश वहुमतले अनुमोदन भएको हो । वाधा अड्काउ फुकाउ आदेश अनुमोदनसँगै संसद् बैठक साउन १७ गतेसम्मका लागि स्थगित गरिएको छ ।












