१० साउन, काठमाडौं । मधेसी मोर्चामा सहभागी दलले नयाँ बन्ने सरकारमा सहभागी नहुने बताइरहेका वेला सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भने मन्त्री बन्ने आशामा हतारिँदै सरकारमा सहभागी हुने अभिव्यक्ति दिइरहेका छन् । आन्दोलनरत दलमध्यकै एउटा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओली सरकार ढाल्न र नयाँ सरकार गठन गर्न सहयोग गरे पनि आफूहरु नयाँ सरकारका सहभागी नहुने बताउँदै आएका छन् । त्यस्तै तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमसपाका अध्यक्ष महेन्द्र यादव कसैले पनि नयाँ बन्ने सरकारमा जाने या नजाने भन्ने विषयमा मुख खोलेका छैनन् । तर सद्भावना पार्टीका सहअध्यक्ष कर्णले भने केही दिन यता लगातार नयाँ सरकारमा आफूहरु सहभागी बन्ने बताउँदै आएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा समेत कर्णले मधेसी मोर्चा सरकारमा सहभागी हुने बताए । तर उनले सरकारमा जानका लागि कांग्रेस र एमालेले प्रतिबद्धता जनाए मात्रै हुने सामान्य शर्त राखे । मोर्चाको माग सम्बोधनका सम्बन्धमा कांग्रेस र माओवादी केन्द्रले प्रतिबद्धतासहितको क्यालेण्डर सार्वजनिक गर्नुपर्ने शर्त राखेका छन् । आफूहरुका माग पूरा नभएसम्म र संविधान संशोधन नभएसम्म संविधान नै नमान्ने बताउँदै आएका आन्दोलरत दलले अब प्रतिबद्धता मात्र खोज्नु अनौठो विषय बनेको छ ।
लक्ष्मणलाल कर्णको यो निरन्तरको अभिव्यक्तिलाई उनको मन्त्री बन्ने हतारोसँग जोडेर मधेसी दलका नेताहरुले नै विश्लेषण गर्न थालेका छन् । मन्त्री बन्नका लागि सांसद हुनुपर्ने संवैधानिक प्रावधान भएकोले सद्भावनाबाट राजेन्द्र महतो मन्त्री बन्न पाउने छैनन् । महतोकी पत्नी सांसद त छन् तर पत्नीलाई सांसद बनाउँदा पार्टी थप वदनाम हुने भएकोले महतोले पत्नीलाई मन्त्री नबनाउने पक्षमा रहेको सोही दलका केन्द्रीय नेताहरु बताउँछन् ।
फलस्वरुप कर्ण सद्भावनाबाट मन्त्री बन्ने पालो पर्खेर बसेको सद्भावनाकै केन्द्रीय नेताहरु बताउँछन् । उधारो सहमति नमान्ने बताउँदै आएका कर्णका पछिल्ला भनाइहरु उदेकलाग्दा देखिएका छन् । के मन्त्री बन्न पाउने भएपछि अब सद्भावना पार्टीले उधारो सहमति मानेरै सरकारमा जाला ?












