९ साउन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भोलि साउन १० गतेका लागि नेपाल बन्द गर्ने पूर्वघोषित कार्यक्रम फिर्ता नलिइएको स्पष्ट पारेको छ । नेकपा माओवादीका जनपरिषद् प्रमुख तथा नेता सन्तोष बुढामगरले सोमबारको बन्द यथावत रहेको जानकारी नेपालदेशडटकमलाई दिए ।
यसैबीच माओवादीले भोलिको बन्द प्रभावित बनाउन आज साँझ काठमाडौंमा गर्न लागेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिवाटिकामा गर्न लागिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केन्द्रीय नेता ईश्वरी दाहाल (असारे काका), ओम पुन लगायतलाई पक्राउ गरेको जानकारी बुढामगरले दिए ।
सर्लाहीको सुकुम्वासी बस्तीमा सरकारले दमन गरेको भन्दै माओवादीले १० दिन पहिले नै नेपाल बन्दको घोषणा गरेको थियो ।
सरकारले सुरक्षा फौज परिचालन गरेर सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमा बर्बर दमनको क्रमलाई जारी राखेको भन्दै विरोधस्वरुप नेपाल बन्द गर्न लागेको माओवादीले जनाएको छ ।
प्रहरी दमनबाट सुकुम्वासी संजीव बम्जनको बायाँ आँखा गुमेको माओवादीले जनाएको छ । प्रहरीले हानेको उनको गोली टाउकोमा पुगेर अड्किएको थियो ।













