५ साउन, काठमाडौं । सत्तारुढ एमाले र अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस तथा माओवादी केन्द्रबीच विहीबार संसदमा घमासान हुने भएको छ । विहीबार ११ बजे बस्ने बैठकमा अविश्वास प्रस्तावमाथि पहिले छलफल गर्ने र बजेट आश्रित विधेयकमा पहिले छलफल गर्ने भन्ने विषयमा दुई पक्षले विपरीत निर्णयसहित तयारी गरेका कारण भिडन्तको स्थिति देखिएको हो ।
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले भने अविश्वासको प्रस्ताव अगाडि बजेटसँग सम्बन्धित विधेयकहरुलाई कार्यसूचीमा राख्न नदिने निर्णय गरेका छन् । तर अविश्वासको प्रस्तावभन्दा पहिले बजेटसँग सम्बन्धित विधेयकको कार्यसूची नराखे संसद अवरुद्ध गर्ने निर्णय एमालेले वुधबार नै गरेको छ ।
काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको बुधबार अपरान्ह संसद् भवनमा बसेको बैठकले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा अरु विषयले प्राथमिकता पाउन नसक्ने भन्दै प्रस्तावमाथि निर्णय भएपछि मात्र अन्य विषय अगाडि बढाउन दिने निर्णय गरेको हो । बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वासको प्रस्तावपछि बजेटसँग सम्बन्धित विधेयकहरुलाई कार्यसूचीमा राख्न तयार रहेको तर विधेयकहरु पहिला पारित गर्ने कुरा भने आफूहरुलाई मान्य नहुने बताए ।
दुई दलको निर्णय अनुसार नेपाली काँग्रेसको संसदीय दलको कार्यसमितिले अविश्वासको प्रस्तावमाथिको छलफलमा अनिवार्य रुपमा भाग लिन आफ्ना सांसद्हरुलाई निर्देशन दिएको छ । संसद् भवनमा नै बसेको काँग्रेसको संसदीय दलको कार्यसमितिले अविश्वासको प्रस्ताव पारित गर्नका लागि अन्य दलसँग सहयोगको आग्रह समेत गरेको छ ।
काँग्रसले सत्तारुढ नेकपा एमालेले चाल्ने सम्भावित कदम र आफूले लिने बाटोका बारेमा छलफलका लागि विहिवार विहान संसदीय दलको बैठक बोलाएको छ ।













