५ साउन, काठमाडौं । विपक्षीहरुले संसद अवरुद्ध गर्ने विश्वव्यापी पद्धतिको विपरीत नेपालमा सत्तारुढ नेकपा एमालेले नै संसद अवरुद्ध गर्ने भएको छ । विहीबार बस्ने संसद बैठकमा बजेटसँग आश्रित विधेयक पेश नभएमा संसद अवरुद्ध गर्ने निर्णय एमालेले गरेको छ । संसद अवरुद्ध गर्ने तयारीका साथ बिहीबार विहान संसद भवनमा उपस्थित हुन आफ्ना सांसदहरुलाई एमालेले निर्देशन दिएको छ ।
सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्तावमाथि छलफल गर्न विहीबार विहान ११ बजे बैठक बोलाए पनि एमालेले सांसदहरुलाई त्यसअघि नै उपस्थित हुन निर्देशन दिएको हो ।
एमाले संसदीय दलको बुधवारको बैठकले अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि असार २९ र ३१ गते संसद बैठकको कार्यसूचीमा प्रवेश गरिसकेका विधेयक टुंगो लगाउनुपर्ने अडान राखेको छ । सभामुखले ती विधेयकलाई कार्यसूचीबाट हटाए हामी संसद अवरुद्ध गरिने जानकारी एमाले सचेतक गोकुल घर्तीले जानकारी दिए ।












