५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावमाथि विहीबारबाट छलफल हुने भएपछि दुवै पक्ष तीव्र राजनीतिक कसरतमा लागेका छन् । अविश्वासको प्रस्तावको सामना गर्ने एमाले र प्रस्तावलाई संसदबाट पारित गर्ने कसरतमा लागेका कांग्रेस माओवादी केन्द्र वुधबार तीव्र कसरतमा लागेका हुन् । यसका लागि शीर्ष नेताहरुबीच औपचारिक र अनौपचारिक कसरतहरु भैरहेका छन् । ठूला दलका सांसदहरुलाई प्रभावमा पार्नेदेखि साना दललाई आफ्ना पक्षमा तान्ने कसरतमा दुवै पक्ष लागेका छन् । यसका लागि सत्ता साझेदारी गर्नेदेखि आर्थिक चलखेलको कसरत समेत भित्रभित्रै भैरहेको दुवै पक्षका नेताहरुले बताइरहेका छन् ।
यसै क्रममा आजै सत्तारुढ एमालेले संसदीय दलको बैठक डाकेको छ । अविश्वासको प्रस्तावको सामना गर्ने र त्यसलाई विफल पार्ने रणनीतिसहित एमाले बैठक बस्दैछ । अर्कोतर्फ भने आजै माओवादी केन्द्रले समेत संसदीय दलको बैठक डाकेको छ । अविश्वासको प्रस्ताव सफल पार्ने माओवादीको एजेण्डा छ भने अर्कोतर्फ बजेटसम्बन्धि पूरक विधेयकलाई के गर्ने भन्ने विषयमा समेत माओवादीले निर्णय गर्दै छ ।
बजेटसम्बन्धि पूरक विधेयकलाई अविश्वासको प्रस्तावभन्दा पहिले संसदमा प्रस्तुत गर्ने सोचमा सभामुख ओनसरी घर्ती रहेको विश्वस्त स्रोतले बताएको छ । तर त्यसका लागि प्रमुख तीन दलको सहमति नबन्दा घर्ती अन्योलमा छिन् ।
माओवादीले आज गर्ने निर्णयले यो कुरालाई समेत निर्धारण गर्ने बताइएको छ ।












