५ साउन, काठमाडौं । अमेरिकामा आगामी सेप्टेम्बर ३० मा हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालबाट ३ सय उद्योगी व्यापारी सहभागी हुने भएका छन् । वर्ल्ड विजनेश म्यानेजमेन्ट एण्ड कन्सल्टेन्टले आयोजना गर्न लागेको नेपाल एक्जिविसन एण्ड इन्टरनेशनल ट्रेड शो मा नेपालबाट ३२३ उद्योगीहरुको चयन भएको छ । प्रदर्शनीका लागि ४ सय उद्योगीले आवेदन दिएकामा ३२३ को चयन गरिएको जानकारी कन्सल्टेन्टका निर्देशक कृष्ण लामीछानेले दिए ।
मेलामा सहभागिताका लागि कम्तीमा ३ वटा औद्योगिक उत्पादन रहेका र आर्थिक कारोबार पारदर्शी रहेका उद्योगको चयन गरिएको लामीछानेले बताए । प्रदर्शनीमा नेपाली हस्तकलाका सामानदेखि नेपाली मदिरा खुकुरी रम समेत रहने उनले जानकारी दिए ।
अमेरिकी सरकारले नेपाली उत्पादनलाई भन्सार छुट दिने निर्णय गरेसँगै नेपाली उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो प्रदर्शनी गर्न लागिएको उनले बताए । न्युयोर्कको म्यानहटनमा तीन दिनसम्म चल्ने प्रदर्शनीका लागि हल बुक गरी ३७२ वटा स्टल निर्माण गरिएको लामीछानेले जानकारी दिए । स्टल निर्माणमा मात्रै २ लाख ५ हजार डलर लागेको दावी उनले गरे । प्रदर्शनीमा सहभागी हुने उद्योगी व्यापारीले कम्तीमा साढे सात हजार डलर रकम तिर्नुपर्ने छ । यो रकममा अमेरिकामा बस्ने तथा आउने जाने दुईतफी टिकटको व्यवस्था आयोजकले गर्ने जनाइएको छ ।
नेपाली उत्पादनलाई अमेरिकालगायत विश्वबजारमा प्रवद्र्धन गर्नका लागि व्यापार मेला आयोजना गर्ने संस्था दुई वर्षपहिले अमेरिकामा बस्ने ८ जना नेपाली मिलेर मेरिल्याण्डमा दर्ता गराएका थिए । यसको अध्यक्षमा बुद्धिप्रसाद रेग्मी रहेका छन् । मेलाका प्रबद्र्धकहरुमा नेपाल पर्यटन बोर्ड, घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी महासंघ, हस्तकला महासंघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, नेपाल ट्राभल एण्ड टुर्स एसोसिएसन, नेपाल होटल एसोसिएसन लगायतका संस्थाहरु रहेका छन् ।















