२४ साउन, काठमाडौं । नेपाल ट्रस्ट कार्यालयले आफ्नो कार्यक्रम अन्तर्गत शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्यसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने भएको छ ।
सोका लागि संस्थाले तयार गरेको कायविधिलाई ट्रस्टका अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमबहादुर रावलको अध्यक्षतामा आज बसेको ट्रस्ट सञ्चालन समितिको बैठकले परिमार्जनसहित स्वीकृत समेत गरेको छ ।
कार्यालयका सचिव भीम उपाध्यायका अनुसार ट्रस्टले आफ्नो आयमध्ये ५० प्रतिशत शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य सञ्चालनमा खर्च गर्न लागेको छ ।
हाल ट्रस्टले पूर्वराजपरिवारका नाममा रहेका करिब २५ हजार ६०० रोपनी जग्गा आफ्नो नाममा ल्याएको छ । व्यापारिक उपयोग देखिएका जग्गालाई ट्रस्टले भाडामा दिन सुरुआत समेत गरिसकेको छ । त्यस्तै प्रवेश शुल्क लिई विभिन्न दरबार अवलोकनार्थ सर्वसाधारणलाई खुला समेत गरिएको छ । ती आम्दानीलाई ट्रस्टले सो काममा खर्च गर्न कार्यविधि तय गरेको जानकारी दिइएको छ ।
ट्रस्टले आफ्ना नाममा आएका जग्गामा नेपाल भ्रमणमा आउने अतिविशिष्ट पाहुनालाई राख्न २५ वटा भवन (स्विट) निर्माण गर्ने प्रस्ताव अघि सारेको छ ।












