४ साउन, काठमाडौं । सभामुख ओनसरी घर्तीसँग रुष्ट रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई भेटेरै आफ्नो मनको तितो पाखेका छन् । मंगलबार आफ्नै निवास वालुवाटारमा घर्तीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री ओलीले भने – ‘तपाईले संसदमा निष्पक्ष भूमिका खेल्नुभएन । म अल्पमतमा परेको तपाईंलाई कसरी थाहा भयो र विधेयकहरु रोक्नुभयो ।’
प्रधानमन्त्रीको जवाफमा घर्तीले आफूले २९, ३० र ३१ गते सहमतिको प्रयास गरेको तर दलहरुबीच सहमति नजुटेकोले विधेयक पास नभएको बताएकी थिइन् । आफू पनि विनियोजन विधेयकसँग सम्वन्धित विधेयक पास गरेर मात्र अविश्वासको प्रस्तावमाथि छलफल गर्ने पक्षमा रहेको तर दलहरुबीच सहमति नहुँदा यस्तो भएको घर्तीले प्रष्ट पारेकी थिइन् ।
ओली र घर्तीको मंगलबारको भेटवार्ताले समेत दुई जनाबीचको मनमुटाव नहटेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।
यसैबीच सभामुख घर्तीले आफ्नो बारेमा प्रधानमन्त्रीलाई गलत रिपोर्टिङ गरेर भ्रममा राखेको तर भेटेर कुरा प्रष्ट पार्न खोज्दा पनि नवौं पटकको प्रयासमा मात्रै प्रधानमन्त्रीले समय दिएको संचारकर्मीलाई जानकारी दिइन् ।












