३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ सरकार गठनका लागि कांग्रेसले मंगलबार पार्टीभित्र छलफल गर्दैछ । कांग्रेसले केन्द्रीय समितिको बैठक मंगलबार बोलाएको छ।
नयाँ सरकार निर्माण तथा संविधान कार्यान्वयनमा कांग्रेसको भूमिकाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। माओवादी केन्द्रसँग मिलेर कांग्रेसले ओलीविरुद्ध संसद्मा दर्ता गराएको अविश्वास प्रस्तावउपर साउन ६ गतेदेखि छलफल हुँदैछ। ओलीले सोमबार वालुवाटारमा बोलाएर देउवा र प्रचण्डलाई राजीनामा नदिने बताएपछि देउवा झनै भड्किएका छन् । उनले मंगलबार पार्टीबाट गम्भीर निर्णय गर्न लागेको उनका निकटस्थहरु बताउँछन् ।

नेकपा माओवादी केन्द्रसँग भएको सहमतिअनुसार अविश्वासको प्रस्ताव पारित गराउने र सरकार निर्माण गर्ने विषयमा बैठकमा छलफल हुने नेता विमलेन्द्र निधिले बताएका छन्।
बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भ्रातृ संस्थाको महाधिवेशनका सन्दर्भमा पनि छलफल हुने छ। नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घको विधान संशोधन र नेपाल तरुण दल, नेपाल किसान सङ्घ, नेपाल सांस्कृतिक सङ्घलगायत भ्रातृ संस्थाको महाधिवेशनबारे पनि बैठकले टुंगो लगाउने छ। संगठनहरुको महाधिवेशन घोषणा भए पनि गुटगत स्वार्थका कारण विभिन्न समस्याहरु कायम छन् ।











