३ साउन, काठमाडौं । पदबाट राजीनामा पनि नदिने र संसदमा राजनीतिक खेल खेल्ने अभिव्यक्ति सोमबार एक कार्यक्रममा दिए लगत्तै प्रधानमन्त्री ओलीले आफूविरुद्ध उभिएका दुई दलका शीर्ष नेतालाई आफ्नै निवासमा बोलाएर छलफल गरेका छन् । आफू नेतृत्वको सरकार संसदको अवधि रहँदासम्म अर्थात २०७४ माघसम्म नै आफ्नो सरकार चल्ने बताएका ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई एकपल्ट फेरि घुमाउने दाउको सुरुवात गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफू समझदारीबाटै अघि बढ्न चाहेको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । तर देउवा र प्रचण्डले भने पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । मिलेर गएमा संविधानमा कुनै कमी कमजोरी भए त्यसलाई हटाउन सरकार तयार रहेको ओलीले बताएका थिए। यस्तो आश्वासन दिंदै ओलीले संसदमा अड्किएका विधेयक पास गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर दुवै पक्षले आआफ्ना अडान कायमै राखेका कारण कुनै निष्कर्षविना नै शीर्ष नेताको बैठक टुंगिएको हो ।
कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमाथि साउन ६ गतेदेखि संसदमा छलफल हुने भएको छ । प्रधानमन्त्रीले ओलीले प्रस्तावको सामना गर्ने बताउँदै आएका छन् ।
ओली र उनी निकट एमाले नेताहरुले सभामुखले बैठक संचालन गरेको प्रक्रियाप्रति समेत आपत्ति जनाउँदै आएका छन् ।












