३ साउन, काठमाडौं । कानुनविद्हरुले नयाँ सरकार गठनका लागि संविधानमा कुनै व्यवधान नभएको व्याख्या गरिरहेका वेला केपी ओली नेतृत्वमो सरकारमा रहेर उपप्रधान एवम् रक्षा तथा गृहमन्त्रीको सुविधा उपभोग गरिरहेका एमाले नेता भीम रावलले भने नयाँ सरकार गठन हुन संविधानले नदिने दावी गरेका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै रावललेले संविधानतः नयाँ सरकार गठन हुन नसक्ने जिकिर गरेका हुन् । सरकारले संसद्मा अविश्वासको प्रस्ताव सामना गर्ने अडान दोहोर्याउँदै रावलले संविधानद्वारा निर्दिष्ट मार्ग अवलम्बन गरी मुलुकलाई अगाडि बढाइने बताए।
उपप्रधानमन्त्री रावलले नयाँ सरकार गठन गर्नुपर्दा संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि दलहरुबीच सहमतिको खाँचो रहेको बताए। संविधान संशोधन नगरी नयाँ सरकार बन्न नसक्ने दावी उनको थियो । उनले विभिन्न दलको साथ र सहयोगमा संविधान जारी भए जस्तै संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलको भूमिका मुलुकका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाउने उद्देश्यले वर्तमान सरकारको गठबन्धनलाई प्रभावित पारेको उनको दावी थियो ।
नेता रावलले देशमा संविधान जारी भएपछि विभिन्न कठिनाइका साथ राष्ट्रियताको जगमा उभिएको वर्तमान सरकारले सुशील कोइराला नेतृत्वको सरकारका पालादेखि कायम भएको नाकाबन्दीलाई हटाएको स्मरण गराए।












