१ साउन, काठमाडौं । कहिले माइक्रो बसमा चढेर त कहिले चुनावको पर्चा बेचेर सर्वाहाराको प्रतिनिधि भन्न रुचाउने माओवादी नेता नारायणकाजीले राजधानीमा बस्ने एउटै व्यक्तिलाई करोड रुपैयाँ दिन शीर्ष नेतालाई बाध्य पारेको घटनाले उनको पाखण्डपन उजागर भएको छ । सुशील कोइराला नेतृत्वको सरकारले उपचारका लागि एक करोड खर्च दिइसकेका बालक आदित्य दाहाललाई पुनः एक करोड दिन नारायणकाजीले प्रधानमन्त्री निवासमै शीर्ष नेतालाई बाध्य पारेको घटना सार्वजनिक भएपछि उनको पाखण्डपन सतहमा आएको हो ।
नेपाली गुगल ब्वायका नामले चिनिने आदित्य दाहाललाई रकम दिन नारायणकाजीले केपी ओली, शेरबहादुर देउवा र प्रचण्डलाई दवाव दिएकै भरमा मन्त्रिपरिषद बैठकले शुक्रबार आदित्यलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको खुलासा भएको छ । त्यो पनि आदित्य दाहाल प्रतिष्ठानका नाउँमा उनका बाबुआमा र निकटहरुलाई सवारी साधन किन्नका लागि । नारायणकाजी आफै केही समय सार्वजनिक सवारी साधनमा हिंडेर चर्चा कमाउन चाहने तर उल्टै एक व्यक्तिका लागि करोड रुपैयाँ दिन चाहने नारायणकाजीको नियत प्रष्ट भएको छ । आदित्यका बाबुआमासँगको निकटताकै कारण उनले यस्तो वातावरण मिलाएका थिए । लोकतन्त्र र परिवर्तनको कुरा गर्ने नारायणकाजीले जिउँदो सहिद मुकेश श्रेष्ठलाई यस्तो सुविधा दिनुपर्ने कुरा कहिल्यै गरेका छैनन् ।
गत असार २३ गते साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेला भएको अवसर पारेर नारायणकाजीले आदित्य दाहालसँग आधा घण्टा बालुवाटारको एउटा कोठामा बैठकको चाँजो मिलाएका थिए । अबको प्रधानमन्त्री केपी ओली बन्ने भनी आदित्यले भनेका र त्यसपछि ओली प्रधानमन्त्री बनेका थिए । त्यसमाथि झापा घर भएका आदित्यसँग ओली त प्रभावित नै थिए अब प्रधानमन्त्री बन्ने दौडमा लागेका प्रचण्ड र देउवा पनि आदित्यलाई देखेपछि नतमस्तक भए । आदित्यलाई रकम दिए आफूहरु पनि प्रधानमन्त्री बन्न सक्ने उनीहरुले ठाने र एक करोड रकम दिए हुने भन्दै ओलीलाई सुझाए । ओलीलाई यसले झनै सजिलो भयो र उनले शुक्रबारको मन्त्रीपरिषद्बाट एक करोड दिने निर्णय गरे ।
हरेक बालक विशेष क्षमताको हुन्छ भन्ने कुरा न त नारायणकाजीलाई बुझेका रहेछन न त अन्य तीन शीर्ष नेताले नै । भूकम्पले घर भत्किएर वास नपाएका र पढ्न नपाएका बालबालिकाको अवस्था देखेर कहिल्यै मन नपग्लिएका यस्ता कठोर नेताहरुबाट जनताले अब के आशा गर्नु ?













