१ साउन, काठमाडौं । एमाले नेताहरुले संचालन गर्ने मनमोहन मेडिकल कलेज संचालनमा रोक लगाउने उद्देश्यसहित वारम्बार अनशनमा बस्दै आएका गोविन्द केसीको समर्थनमा आज राजधानीमा र्याली प्रदर्शन भएको छ ।
अनशनरत केसीका माग पूरा गर्न माग गर्दै डाक्टर, नर्स, सर्वसाधारणलगायत सर्वसाधारण व्यक्तिले जुलुश निकालेका हुन् । माइतीघर मण्डलाबाट निस्केको जुलुश एभरेष्ट होटलसम्म पुगेको थियो।

‘केसीको अनशन, माफियालाई टेन्सन’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’, ‘अख्तियारको घडीमा लोकमानको ब्याट्री’, जस्ता नारा लगाउँदै जुलुश प्रदर्शन गरिएको थियो।
चिकित्सा क्षेत्र सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित केसी सात दिनदेखि अनसनमा बसेका छन्। केसी अनसनमा बसे पनि उनको माग पूरा गराउन सरकार गम्भीर नभएको भन्दै विशाल प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीले मुखमा केसीको स्केच चित्रको मास्क लगाएका छन्। कतिपयले अनुहारमा ‘आई एम वीथ डाक्टर केसी’ लेखेका छन्।
जुलुशमा डाक्टर, युवा सम्बद्ध विभिन्न संस्था र शिक्षण अस्पतालका विद्यार्थीहरू थिए। माइतीघरदेखि सुरू भएको जुलुश बानेश्वरसम्म पुगेको थियो।
चिकित्सा शिक्षामा माफियाको प्रवेशलाई रोक्न डा. केसीले उठाएका माग पूरा गरिनुपर्ने प्रदर्शनकारीहरूको जोड थियो।

उनीहरूले नेपालको चिकित्सा शिक्षा जेहेन्दार र पढाइमा अब्बलभन्दा हुनेखानेका छोराछोरीले मात्र पढ्न पाउने खालको बन्दै गएको भन्दै यसतर्फ समयमै ठोस पाइला नचाले चिकित्सा सेवाको गुणस्तर खस्किएर जाने र बिरामीको ज्यान जोखिममा पर्ने बताए। उनीहरूले चिकित्सा शिक्षा माफियाको हातमा पर्नबाट जोगाउन डा केसीले उठाएका माग तत्काल पूरा गर्नुपर्ने नारा लगाएका थिए।
जुलुशमा संलग्न डाक्टरले प्रतीकात्मक रुपमा सडकमै चेकजाँच गरेका थिए ।











