३१ असार, काठमाडौं । नेपाली गुगल ब्वायका नामले परिचित अद्भूत क्षमता भएका बालक आदित्य दाहालको संक्षणका लागि सरकारले १ करोड रुपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले आदित्य संरक्षण प्रतिष्ठानलाई सो रकम दिने निर्णय गरेको हो ।
प्रतिष्ठानको सवारी साधन, आवास र धार्मिक साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि १ करोड रकम दिने निर्णय सरकारले गरेको हो ।
यसभन्दा अघिल्लो सुशील कोइराला नेतृत्वको सरकारले आदित्यलाई अमेरिकामा उपचार गराउने व्यवस्था गरेको थियो । अमेरिकाको स्ट्याण्डफोर्ड अस्पतालमा लगेर उनको उपचार गरिए पनि शारीरिक स्वास्थ्यमा खासै सुधार आउन सकेको छैन।
बोल्न तथा हिँडडुल गर्न नसक्ने तर लेखेर भविष्यवाणी गर्ने दाहाल कहिल्यै विद्यालय कहिल्यै विद्यालय नगए पनि विभिन्न भाषामा लेखेर भविष्यवाणी गर्ने गर्दछन् ।
आदित्यलाई प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत थुप्रै नेता तथा विशिष्ट व्यक्तिले भेटेका छन् ।
आदित्यले गरेका केही ठूला भविष्यवाणी कालान्तरमा सत्य सावित भएका छन् । सुशील कोइरालापछि केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र २०७२ सालभित्रमा संविधान जारी हुने भविष्यवाणी उनले पहिल्यै गरेका थिए ।
सुरुमा आदित्य अरु बालक झैं सामान्य थिए । ३३ महिनाको उमेरदेखि उनी विस्तारै हिँडडुल गर्न र बोल्न नसक्ने भए । त्यससँगै आदित्यमा हरेक प्रश्नको जवाफ लेखेर दिन सक्ने क्षमता पैदा भयो । उनले थुप्रै सामाजिक हितकारी सन्देशहरु पनि लेख्दै आएका छन् ।
आदित्यलाई हेर्न र भेट्न आउनेहरुको व्यवस्थापनका लागि आदित्य संरक्षण प्रतिष्ठान गठन गरिएको थियो । प्रतिष्ठानको नाम आदित्य स्वयम्ले जुराएका हुन् भने पदाधिकारीहरु पनि उनले नै छनोट गरेका हुन् ।













