३१ असार, काठमाडौं । संविधानका अन्तरवस्तुमा चित्त नबुझेको भनी सुरु भएको मधेसी मोर्चा र संघीय गठबन्धनको आन्दोलन प्रधानमन्त्री केपी ओली सरकारबाट हट्ने भएपछि सकिने भएको छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले आन्दोलनका रुपमा काठमाडौंमा गरेको रिले अनशनको आज अन्त्य गर्न लागेको हो । ओलीविरुद्धको समर्थन माओवादी केन्द्रले फिर्ता लिनेवित्तिकै मधेसी नेताहरुले भारतीय राजदूतसँग रात्रिभोज खाएका थिए । यसले के प्रष्ट पारेको छ भने मधेसका नाउँमा भएको आन्दोलन अधिकारका लागि नभएर ओलीविरुद्ध थियो ।
भारत निकट मानिने राजेन्द्र महतो र महन्थ ठाकुर मात्रै होइन चीन निकट रहेका उपेन्द्र यादव पनि ओली सरकार ढाल्न सहमत भएका छन् । ओलीविरुद्धको संसदमा दर्ता भएको अविश्वास प्रस्तावका पक्षमा आन्दोलनरत दलले मतदान गर्ने निर्णय गरिसकेका छन् ।
यद्यपि ओलीलाई प्रधानमन्त्रीबाट हटाउनकै लागि आन्दोलन भएको भनी आलोचना हुने भएकोले पछि अन्य आन्दोलनका कार्यक्रम घोषणा गरिने कुरा आन्दोलनरत दलहरुले गरिरहेका छन् ।












