३१ असार, काठमाडौं । उपसभामुख गंगा यादवले प्रयोग गर्दै आएको गाडी दुर्घटनामा परेको छ । यादव चढ्ने गरेको गाडी दुर्घटनाग्रस्त भएर कच्याककुच्चुक परेको अवस्थामा सिंहदरबारभित्र नेपाल टेलिभिजन नजिकै फेला परेको हो । बा २ झ ९४३८ नम्बरको उक्त गाडीको अगाडि र मध्य भाग पूरै ध्वस्त भएको छ । सिसाहरु सबै फुटेका छन् । उपसभामुख चढेको गाडी यसरी गम्भीर दुर्घटनामा पर्दा पनि सरकारले लुकाउनुको रहस्य के हो ?
सिंहदरबार परिसरमा बेवारिसे अवस्थामा भेटिएको दुर्घटनाग्रस्त गाडी नचिनियोस् भनेर नम्बर प्लेट हिलोले पोतिएको अवस्थामा राखिएको छ ।
उपसभामुखको गाडी कहाँ कसरी दुर्घटना भयो भन्ने कुरा सरकारले गोप्य राखेको छ । राप्रपा नेपालको कोटामा यादव उपसभामुख बनेका हुन् । तर राप्रपा नेपालबाटै उपप्रधानमन्त्री बनेका कमल थापाको सचिवालयले समेत दुर्घटनाबारे अनभिज्ञता प्रकट गर्यो । राप्रपा नेपालका सहप्रवक्ता तथा उपप्रधानमन्त्री कमल थापाका सल्लाहकार मोहन श्रेष्ठले गाडी कहाँ कसरी दुर्घटना भयो भन्ने जानकारी प्राप्त नभएको बताए । उपसभामुख यादव घाइते भए नभएको समेत आफूलाई जानकारी नभएको श्रेष्ठले बताए ।
उपसभामुख यादवसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोनमा सम्पर्क हुन सकेन ।
नेपाल टेलिभिजन नजिकै पार्किङमा राखिएको गाडी उपसभामुख तराईतिर जाँदा भैंसीले बाटो छेक्दा दुर्घटना भएको र त्यहाँबाट गाडी ल्याएर सिंहदरबारमा राखिएको जनाइएको छ । उपसभामुख यादव घाइते भएको समाचार समेत प्राप्त नभएकोले उनको गाडी अरु कसैले दुरुपयोग गरेको आशंका बढेको छ ।
तस्वीर : दिलिप थापा मगर













