३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस माओवादी केन्द्र भारतीय हतियार बनेर राजनीतिक कसरत गरेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रले सरकारबाट वाहिरिएर नेपाली काँग्रेससँग मिली नयाँ सरकार गठनको कसरत गर्नुका पछाडि छिमेकी मुलुक भारतको हात रहेको आरोप ओलीले लगाएका हुन् । रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले विहिवार काठमाडौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतको मुख्य संलग्नतामा नयाँ सरकार गठनको गृहकार्य अगाडि बढेको दावी गरे ।
प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री, मन्त्रीहरु र उच्चपदस्थ सुरक्षा अधिकृतहरुकासामु सरकार परिवर्तनका लागि दलहरुका बैठक स्वचालित रुपमा नभई ब्याट्रीबाट चलिरहेको र मुलुकका लागि त्यो निकै दुःखद भएको दुखेसो पोखे ।
वर्तमान सरकारबाट माओवादी बाहिरिएको दिनमै भारतीय रञ्जित रेले भोजको आयोजना गरेको बताउँदै ओलीले भने- ‘एउटा पार्टी सरकारबाट वाहिरिंदा अरुले उफ्रिएर खुशी भई भोज खानुलाई सामान्य रुपमा लिन हुँदैन ।’
प्रधानमन्त्री ओलीले आफूले नाकाबन्दीका बेला राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिएको परिणाम भारतले काँग्रेस र माओवादीलाई प्रयोग गरेर सरकार परिवर्तन गर्न खोजेको तर्क गरे ।
नाकाबन्दीका बेला चर्को अभाव झेलेर पनि देशभक्ति देखाउनुले नेपालीहरु अन्याय सहँदैनन् भन्ने पुष्टि भएको भन्दै ओलीले अस्थिर खेलकुद् गरेर नेपालको स्वाधीनतामा हस्तक्षेप गर्ने सपना नदेख्न भारतलाई चेतावनी समेत दिए । यसअघि सार्वजनिक कार्यक्रमहरुमा उखान टुक्का प्रयोग गरेर हँसाउने गरेका प्रधानमन्त्री ओली ३५ मिनेट लामो मन्तव्य दिँदा भावुक देखिएका थिए ।












