३० असार, काठमाडौं । आफूविरुद्ध संसदमा अविश्वासका प्रस्ताव दर्ता भएपछि अब कस्तो रणनीति अपनाउने भनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीको संसदीय दलको बैठक डाकेका छन् । आज ३ बजे बस्ने संसदीय दलको बैठकले संसदमा कसरी अविश्वासको प्रस्तावको सामना गर्ने भन्ने विषयमा रणनीति बनाउने भएको छ ।
कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेको अवस्थामा प्रधानमन्त्रीले अब संसदमा विश्वासको मत लिने या नलिने भन्ने विषयमा छलफल गर्ने एमालेले जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेमा भन्ने कुरा उल्लेख भएकोले विश्वासको मत लिने या नलिने भन्ने निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छ । तर सरकार अल्पमतमा परेकोले नैतिकताका आधारमा राजीनामा नै दिनुपर्ने तर राजीनामा दिनुभन्दा पहिले संसदमा प्रश्न राखेर मात्रै राजीनामा दिने मनस्थितिमा ओली रहेको जानकारी एमाले नेता गणेशमान गुरुङले दिए । उनले भने – ‘एउटा बहुमतीय सरकार ढालेर अर्को बहुमतीय सरकार बनाउनुको कारण बारे प्रधानमन्त्रीले संसदमा प्रश्न गरेर मात्रै सरकार छाड्नुहुनेछ ।’
एमाले संसदीय दलले कानुनविद्हरुको परामर्श लिएर मात्रै कदम चाल्ने तयारी गरिरहेको छ ।












