२८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता तथा संविधानविद् विष्णु भट्टराईले केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न वर्तमान संविधानले दिंदैन भन्ने कुरा कुतर्क मात्र भएको स्पष्ट पारेका छन् । राजनीतिक समस्याको समाधान संविधानले दिन नसकेको विगतका नजिरको उल्लेख गर्दै भट्टराईले ओली वर्तमान सरकारलाई हटाउन संविधानले दिँदैन भन्नु केवल आत्मरति र चाकडीको भाषा मात्र भएको नेपालदेशडटकमलाई बताए ।
वर्तमान अवस्थामा ओली सरकार विस्थापित भएर अर्को सरकार बन्नै सक्दैन भन्ने तर्क गर्ने कानुनविद्हरुलाई प्रश्न गर्दै भट्टराईले भने – ‘राजा ज्ञानेन्द्रले पुनस्थापित गरेको प्रतिनिधिसभाले राजालाई नै विस्थापित गर्न पाउने तत्कालको संविधानमा कहाँ व्यवस्था थियो ? अन्तरिम व्यवस्थापिका संसदले गरेको गणतन्त्र घोषणाको उल्लेख गर्दै उनले थपे तत्काल कायम रहेको संविधानको कुन धाराले गणतन्त्रको स्थापना गर्न पाइन्छ भनेको थियो ?’
केपी ओली सरकार सैद्धान्तिक रुपमा पनि अनैतिक र अपवित्र गठबन्धन भएको समेत उनले दावी गरे ।
ओली सरकारले वर्तमान संविधानको धज्जी उडाएको उल्लेख गर्दै भट्टराईले भने – ‘गणतन्त्र र संघीयताको वर्तमान संविधान कार्यान्वयन गर्न गणतन्त्रविरोधी र संघीयताविरोधीहरु सरकारमा पुगे । सरकारका उपप्रधानमन्त्री बनेका कमल थापा र चित्रबहादुर केसीले संविधानविरोधी क्रियाकलाप गर्दै राज्यको सुविधा उपभोग गरे । योभन्दा अनैतिक सरकार नेपालको इतिहासमा अर्को कुनै बनेको म देख्दिन ।’
उनले थपे – ‘बाख्राका टाउकामा भैंसीको सिङ लगाएर चलेको यो सरकारको गाईजात्रा र नौटङ्की जनताले अझै हेर्नुपर्छ भन्ने संविधानविद् विशेषण जोड्न चाहनेहरुलाई पशु मात्र भन्न सकिन्छ नागरिक भन्न सकिन्न।’
ओली सरकारलाई बचाउन खोज्ने कानुनविद्हरुले भूकम्पले भत्किएको घर बलियो छ भनेर टेको लगाउन खोजको संज्ञा दिँदै वरिष्ठ अधिवक्ता भट्टराईले भने – ‘संविधानविद्ले राज्य संचालन गर्न सक्ने भए राजनीतिका विलक्षण हस्तीहरु उहिल्यै विलाई सकेका हुन्थे ।’
उनले ठोकुवा गरेर अन्त्यमा भने – ‘राजनीतिक समस्याको समाधान संविधानले दिने हुनै सक्दैन ।’













