२८ असार, काठमाडौं । नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादीकेन्द्रबीच सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सत्ता समिकरणबारे आज सहमति भएर हस्ताक्षर भएर सहमति भएको हो । ओली सरकार ढाल्नका लागि निरन्तर लाग्दै आएका माओवादी नेता गोपाल किराँतीले नेपालदेशडटकमसँग भने – ‘मैले भर्खरै अध्यक्ष प्रचण्डसँग टेलिफोनमा कुरा गरेँ । उहाँले कांग्रेससँग मिलेर सरकार गठन गर्न हस्ताक्षर भैसक्यो भन्नुभयो ।’
अबको सरकार कांग्रेस नेतृत्वमा गठन हुन्छ या माओवादी नेतृत्वमा भन्ने प्रश्नमा किराँतीले भने – ‘निश्चित रुपमा अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार गठन हुन्छ । यद्यपि सबै प्रक्रिया बारे अहिले सबै कुरा नभनौं ।’
सोमबारसम्म कांग्रेस र माओवादीबीच कुरा नमिले पनि मंगलबार विहानै सहमति भएर हस्ताक्षर भएको जानकारी उनले दिए । एमाले प्रतिपक्षमा बस्ने पनि किराँतीले बताए ।
अब बन्ने सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउने, राहत तथा पुननिर्माणका कार्यलाई तीव्रता दिने र असन्तुष्ट दलसँग वार्ता गरेर संविधान संशोधन र कार्यान्वयमा गर्ने कार्ययोजना रहेको किराँतीले जानकारी दिए ।
केपी ओलीमा खोक्रो राष्ट्रवाद रहेको र भारतको विरोध गरेर राष्ट्रवादलाई एनजिओकरण गरेका कारण यो सरकार ढाल्नु परेको उनले प्रतिक्रिया दिए । कांग्रेस आईको दलाली गरेका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको सम्बन्ध विग्रिनाले नेपाली जनताले दुःख पाएको तर्क पनि उनले गरे ।
वैशाखमा रोपेको फल असारमा पाक्यो
ओली सरकार ढलेपछि अब भने जनताले दुःख नपाउने दावी उनले गरे । तपाईंले सुरु गरेको सरकार ढाल्ने अभियान अहिले आएर पूरा भयो कस्तो लागेको छ ? भन्ने प्रश्नमा किराँतीले भने – ‘वैशाखमा रोपेको फल असारमा लागेको छ । मैले सुरु गरेको सरकार ढाल्ने अभियान सफल हुँदा खुशी छु मैले अध्यक्ष प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका लागि शुभकामना समेत दिइसकेँ ।’













