२७ असार, काठमाडौं । ओली सरकार ढाल्न सहयोग गरे प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुँदा प्रचण्डले अन्तिम समयमा दिएको धोकाको बदला कांग्रेसले फर्काएको छ । आइतबार प्रधानमन्त्री निवास वालुवाटार पुगेर केपी ओलीलाई सरकार ढाल्ने घुर्की लगाएका प्रचण्डलाई कांग्रेसले सहयोग नगर्ने जवाफ फर्काएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि प्रचण्डलाई सहयोग नगर्ने ठाडो जवाफ दिएपछि सरकार छाड्न खुट्टा उचालेर बसेका प्रचण्डलाई टेक्ने हाँगो न समाउने अखेटो भएको छ । एकातिर ओलीले प्रचण्डलाई प्रधानमन्त्री नबनाउने भनीरहेका बेला कांग्रेसले पनि धोका दिएपछि आफूलाई राजनीतिका चतुर खेलाडी ठान्ने प्रचण्ड अलपत्र परेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रियामा सहयोग गर्न गरेको आग्रहलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्वीकार गरेको हो।
कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका क्रममा आफ्नो दलले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि समर्थन गर्न नसक्ने जानकारी गराएका हुन्।
सोमबार अपरान्ह करिब साढे ३ बजे सिहंदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवासँग सहयोग र समर्थनको आग्रह गर्न पुगेका प्रचण्डलाई देउवाले भने, ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि तपाईँलाई हामीले समर्थन गर्ने कुरा सम्भव छैन।’
‘पार्टी सभापति शेरबहादुर देउवाजीसँग भेटगरी माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन माग गर्नुभयो,’ दुई नेताबीचको भेटवार्तामा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘जवाफमा सभापति देउवाजीले हुँदैन भनिदिनुभयो।’
प्रचण्डसँग भएको करिब २५ मिनेट लामो वार्ताका क्रममा सभापति देउवाले राष्ट्रिय सहमतिको सरकार गठनका लागि वर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यस्तै सहयोग मागेको कुरा स्मरण गराएका थिए।
‘यसअघि नै राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा एमाले अध्यक्ष ओलीले हामीलाई आग्रह गर्दै सरकारमा सहभागी हुन र सहयागो गर्न आग्रह गरेका थिए। तर, हामीले उनको आग्रहलाई अस्विकार गरेको अवस्थामा कांग्रेसले अहिले फेरि तपाईँको आग्रह स्वीकार गरी समर्थन दिनुको कुनै औचित्य छैन,’ देउवाको भनाई उदृत गर्दै नेता निधिले भने।
ओलीलाई समर्थन नगर्ने कांग्रेस नेतृत्वले माओवादी नेतृत्वको आग्रह स्वीकार्दै समर्थन गर्ने कुरा हुन नसक्ने स्पष्ट पार्दै देउवाले भने, ‘प्रधानमन्त्री ओलीसँग हाम्रो कुनै दुश्मनी त छैन नि।’ अघिल्लो कसरतमा प्रचण्डले धोको दिएकोमा सबैभन्दा बेखुशी हुने कांग्रेस नेता निधि नै थिए । प्रचण्ड निवासबाट निस्कँदै गर्दा निधिले कुनै अज्ञात व्यक्तिलाई जानकारी गराउँदै भनेका थिए – ‘प्रचण्डले धोका दियो ।’
देउवाले समर्थन गर्न नसक्ने स्पष्ट अभिव्यक्ति दिएपछि प्रचण्डसहित माओवादी नेताहरु बाहिरिएका थिए। वैशाख महिनामा झण्डै तीन साता कांग्रेस र माओवादीका नेताहरुले आन्तरिक भेटवार्ता गरी कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठनको तयारी गर्दागर्दै माओवादीले वैशाख २३ गते एमाले नेतृत्वबाट हट्न नसक्ने जानकारी दिएका थिए।
त्यसपछि कांग्रेस नेतृत्वले माओवादीबाट धोका खाएको भन्दै उसलाई सरकारको समर्थन गर्न तत्काल सरकारबाट फिर्ता भएर आउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्।
एमालेसँग वैशाख २३ गते गरेको ९ बुँदे लिखित सहमतिका साथै ३ बुँदे अलिखित सम्झौता कार्यान्वयन गरी सरकारको नेतृत्व आफूलाई नदिएको भन्दै माओवादीभित्र एमाले नेतृत्वप्रति तिब्र असन्तुष्टि बढ्दै गएको थियो।
जसको कारण सोमबार बिहान पार्टी मुख्यालय पेरिस डाँडामा बसेको माओवादी नेताहरुको बैठकले संविधानको कार्यान्वयका लागि राष्ट्रिय सहमति कायम गरी सहमतिको सरकार गठनका लागि सबै पक्षसँग वार्ता र निर्णय लिन अध्यक्ष प्रचण्डलाई अधिकार दिएको थियो।
त्यस लगत्तै माओवादी नेता कृष्णबहादुर महरा कांग्रेसका नेता निधिसँग भेटवार्ता गर्न कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेका थिए।
संसदीय दलका नेता देउवाको सचिवालयमा झण्डै २ घण्टा लामो समय निधिसँग कुराकानी गरीसकेपछि महराले अध्यक्ष प्रचण्डलाई देउवासँगको भेटवार्ताका लागि त्यही आउन आग्रह गरेका थिए।
प्रधानन्यायाधीश शुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको पद तथा गोपनियताको सपथ ग्रहण लगायतका कार्यक्रममा सहभागी भए लगत्तै अपरान्हको खाना खाएर देउवा दलको कार्यालयमा पुगेका थिए। जहाँ कांग्रेसका नेता निधि, रमेश लेखक, माओवादी नेता महरा तथा वर्षमान पुन पनि उपस्थित थिए।












