२७ असार, काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई रिँगाएको रिँगाएकै गरेपछि ओलीसँग प्रचण्ड कड्किएका छन् । बजेटपछि सत्ता हस्तान्तरण गर्ने भनी दुई नेताबीच भएको भनिएको भद्र सहमतिको ओलीले वास्तै नगरेको भन्दै प्रचण्ड ओलीसँग जंगिएका हुन् । आइतबार राति प्रधानमन्त्री निवासमा भएको सत्तारुढ दलको बैठका प्रचण्डले आफूलाई सत्ता हस्तान्तरण गर्न भन्दै कडा रुपमा प्रस्तुत भएपछि ओलीले पनि प्रचण्डलाई कडै रुपमा जवाफ फर्काएका छन् ।
पार्टी हेडक्वाटर बैठकपछि बालुवाटार पुगेका प्रचण्डसहितका माओवादी नेताहरुले आफूलार्इ नेतृत्व दिन प्रस्ताव गरेका थिए । अध्यक्ष प्रचण्डले ९ बुँदे सहमति कार्यान्वयनमा केही काम भएपनि धेरै तीब्रता नआएको लगायत तर्क गर्दै नेतृत्व हस्तान्तरणको माग गरेका थिए ।
बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सरकार र गठबन्धनबारे बाहिर धेरै चर्चा भएको भन्दै यसबारेमा के धारणा छन् भन्नेबारे छलफल गरौँ भन्दै एजेन्डा प्रस्तुत गरेको थिए । त्यसपछि प्रमुख सत्तासाझेदार दलको तर्फबाट प्रचण्डले पार्टीको निर्णयअनुसार धारणा राखेका थिए ।
प्रधानमन्त्री ओलीले पनि गठबन्धन आवश्यक रहे पनि असमझदारीको अवस्था रहे धेरै लामो सयमसम्म चल्न नसक्ने बताए ।
‘सरकार अहिल्यै ढल्छ, भरे नै ढल्छ भनेर हिँड्नु ठीक होइन, सहमतिका साथ जति दिन चल्छ त्यतिन्जेल चलाउने हो,‘प्रधानमन्त्री ओलीको भनाई थियो,‘असमझदारी पाली(पाली गठबन्धन जोगाउनु छैन मलाई पदमा बसिरहने रहर छैन ।’
दुवै नेताबीच केहीबेर चर्काचर्की नै भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।












