२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते गर्ने घोषणा गरेको छ ।
आइतबार बसेको त्रिवि सभाको बैठकले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको हो ।
स्ववियु चुनाव २०६५ सालयता भएको छैन । क्याम्पसहरु विगत आठ वर्षदेखि स्ववियुविहीन हुँदा विद्यार्थीहरु हकहितबाट बञ्चित भएको भन्दै विद्यार्थी संघ संगठनहरुले त्रिभुवन विश्वविद्यालयलाई छिटो चुनाव गराउन दबाव दिँदै आएका थिए ।

त्रिवि सभाको बैठकमा विद्यार्थी नेताहरुलाई पनि बोलाइएको थियो ।
स्ववियु चुनावमा उमेर विवाद मिलाउन शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ । समितिमा गंगाबहादुर थापा र उपकुलपतिले तोकेका एक व्यक्ति सदस्य छन् ।
समितिमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका अध्यक्षहरूलाई पनि राख्ने छलफल चले पनि सहमति भर्इ नसकेको जनाइएको छ ।
समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय अवधि दिइएको छ ।
स्ववियु चुनावमा २८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई भाग लिन नदिन अनेरास्ववियु र अखिल क्रान्तिकारी सहमत भए पनि नेविसंघले विरोध जनाएको छ ।











