२६ असार, काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले संसदीय सुनुवाइ विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा आफूमाथि परेका उजुरीबारे सफाइ दिने क्रममा भ्रष्टाचार आफ्नो पुस्ताकै रगतमा नरहेको समेत गरेकी छिन् । भ्रष्टाचार गरेर सम्पति आर्जन गर्नतिर लागेको भए श्रीमान् दुर्गा सुवेदीसँग उहिल्यै वैवाहिक सम्बन्ध टुटिसकेको हुने समेत उनले दावी गरिन् । तर एमाले अध्यक्षको आदेशमा एमाले नेतालाई सर्वोच्चका न्याधीश बनाउने वातावरण विग्रेपछि विदेश भ्रमणबाट फर्केर कसरत गरेको विषयमा उनी मौन रहिन् । बरु उनले पूर्व एमाले सांसद सपना प्रधान मल्ललाई न्यायधीश बनाउन निकै बचाऊ गरिन् ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरेका ११ जना व्यक्ति निकै दक्ष रहेको भन्दै ती ११ जनामा पनि सपना प्रधान मल्ल न्यायाधीशका लागि धेरै काबिल रहेको दावी गरिन् ।
मल्लले स्थापना गरेका नजिरलाई पूरै उपेक्षा गरी मल्लमाथि राजनीतिक लेभल लगाउन नसुहाउने जिकिर गरिन् ।
मल्लको वचाऊ गर्नका लागि उनले आफ्नो नजिर समेत प्रस्तुत गरिन् । कुनै बेला आफू पनि नेपाल विद्यार्थी संघको मोरङ जिल्ला अध्यक्ष रहेको भन्दै त्यसका आधारमा आफूलाई काँग्रेसी न्यायाधीश नभनिएजस्तै एमालेका तर्फबाट समानुपातिक सभासद् बनेकी मल्ललाई पनि राजनीतिक चस्माले हेर्न नमिल्ने कार्कीले दावी गरिन् ।
यति भनिसकेपछि कांग्रेस सांसदहरु समेत मत्थर भए । फलस्वरुप कार्कीले संसदीय सुनुवाइ समितिबाट आफ्नो नाम पारित गर्न मात्र सफल भइनन् एमाले ऐजेण्डा पनि पूरै सफल पारिन् ।











