२५ असार, काठमाडौं । आफ्नो भाषणमा सांसदहरुले ताली नलगाएपछि प्रधानमन्त्री केपी ओली आफैंले ताली लगाउन आग्रह गरेका छन् । व्यवस्थापिका संसदमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा ताली नपाएपछि ओलीको चित्त दुखेको हो ।
सहरी विकास मन्त्रालय र प्रधानमन्त्री कार्यालयको बजेटबारे जवाफ दिन रोष्ट्रममा उभिएका प्रधानमन्त्री केपी शर्मा ओलीले ताली मागेका हुन् ।
ओलीले विकास योजनाबारे बोल्दै हुलाकी राजमार्ग सरकार आफैंले बनाउने र मधेसका जिल्ला सदरमुकामहरुमा चत्रmपथ बनाउने बताए ।
मधेसविरोधी भनेर केही मधेसी दलका नेताले आरोप लगाएका वेला यस्तो योजना सुन्दा कम्तीमा सत्तारुढ दलका सांसदहरुले ताली लगाउलान भन्ने आशा ओलीको रहेछ । तर उनले ताली नपाएपछि मुखै खोले भने यस्तो विकासको कुरा गर्दा ताली पनि कोही लगाउनुहुन्न । के हो ?
ओलीको यो कुराले सबै सांसदहरु बेसरी हाँसे । त्यसपछि भने सत्तारुढ एमाले सांसदहरुले हाँस्दै ताली बजाए ।
एमाले सांसदहरुको तालीको आवाज कम भएपछि ओलीले फेरि भने विर्सनुभो कि भनेर सम्झाएको मात्र ।
संसद बैठक फेरि हाँसोमय बन्यो । त्यसपछि भने एमाले सांसदहरुले ओलीको भाषण नसकिँदासम्म ताली पिट्न विर्सेनन् ।












