२५ असार, ललितपुर। ओली सरकार ढाल्ने कसरतमा लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टी नेता खुमबहादुर खड्काले चेतावनी दिएका छन् । खड्काले आज शनिबार आफू निकट नेता तथा कार्यकर्ताको भेला गर्दै आफूलाई पार्टीको उपसभापति बनाउन देउवाले गरेको भद्र सहमति कार्यान्वयन गर्न चेतावनी दिएका हुन् ।
ललितपुरको लगनखेलमा खुमबहादुर खड्का पक्षधरको भेला सम्पन्न भएको हो ।
भेलामा खड्का निकट केन्द्रीय सदस्य, नेता तथा कार्यकर्ता र उनी निकट पत्रकारहरु समेत सहभागी थिए ।
केन्द्रीय नेताहरु पुष्पा भूषाल,अजय चौरासिया ,देवेन्द्रराज कंडेल सहभागी थिए भने पत्रकार देवप्रकाश त्रिपाठी समेत उक्त गोप्य भेलामा सहभागी भएको तस्वीर सार्वजनिक भएको छ । खड्का निकट केन्द्रीय सदस्य शंकर भण्डारी भने सो भेलामा देखिएनन् ।
त्यस्तै भेलामा सभासद सुशिला चौधरी, नेपाली कांग्रेस डडेलधुराका सभापति कर्ण मल्ल , दाङकाका पार्टी सभापति किर्ति बहादुर खड्का ,महाधिवेशन प्रतिनिधिहरु महेश श्रेष्ठ, मिनकृष्ण महर्जन, रमेश पाण्डे लगायत भेलामा सहभागी थिए ।
भेलाको तस्वीर हेर्दा खड्का र अन्य नेता कार्यकर्ताबीच ठूलो विभेद रहेको देखिन्छ । खड्का एउटा कुर्चीमा मात्रै अगाडि बसेका थिए भने अन्य नेता तथा कार्यकर्ता अर्को पट्टी बसेका थिए । केही समयपहिले मधेसी नेतालाई भेट्दा लालु यादवले गरेको व्यवहारभन्दा खड्काले नेता तथा कार्यकर्तालाई गरेको व्यवहार फरक शैलीको देखिँदैन । अर्थात् दास शैली उनको पनि देखिन्छ ।

महाधिवेशनको चुनाव अगाडि आफूलाई उपसभापति बनाउने भद्र सहमति देउवाले गरेको कुरा खड्काले भेलामा सुनाएका थिए । हिन्दू राज्यका पक्षमा आवाज उठाउने र आसन्न भातृसंगठनहरुका महाधिवेशनमा खड्का पक्षको पकड कायम राख्ने बारे भेलामा छलफल भएको सहभागी एक नेताले जानकारी दिए । भ्रातृ संगठनको महाधिवेशनअगाडि नै पदाधिकारी मनोनित गर्नुपर्ने र त्यसमा पनि खड्कालाई उपसभापति मनोनय गर्न देउवालाई दवाव दिने निर्णय सो भेलाले गरेको छ । त्यसका लागि खड्का निकट केन्द्रीय सदस्यहरुले पार्टी सभापति देउवालाई भेट गर्ने निर्णय समेत भएको जनाइएको छ।
खड्काले पार्टी सभापति देउवाले सभापतिमा निर्वाचित भएको एकहप्तामा आफूलाई उपसभापतिमा मनोनित गर्ने भद्रसहमति गरेको भए पनि पालना नगरेको खडकाले भेलामा बताएका थिए ।
तस्वीर :सेतीमादी दैनिक












