२५ असार , काठमाडौं । बजेट ल्याएपछि सत्ता हस्तान्तरण गर्न प्रचण्डसँग भद्र सहमति गरेका प्रधानमन्त्री केपी ओलीले बजेट पारित हुने समयमा आएर सत्ता हस्तान्तरणको मिति स्थानीय निर्वाचनपछि धकेल्ने नयाँ प्रस्ताव गरेका छन् ।
सरकार ढाल्ने घुर्की देखाइरहने तर सरकार नढाल्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री ओलीले एउटा अडान लिन समेत आग्रह गरेका छन् ।
शुक्रबार दिउँसो र साँझ गरेर दुई पटक भएको ओली र प्रचण्डबीचको छलफलमा ओलीले प्रचण्डलाई एउटा अडानमा उभिन आग्रह गरेका हुन् । सरकार ढाल्ने भए छिट्टै ढाल्न र होइन भने चुप लागेर बस्न ओलीले प्रचण्डलाई आग्रह गरेको वालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच दुई घन्टा गोप्य वार्ता भएको थियो ।
ओली र प्रचण्डको भेटमा यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । दाहालले भने, ‘शुक्रबार साँझको भेटमा मंसिरसम्म यही सरकार कायम राख्ने विषयमा छलफल भएको छ ।’
प्रचण्ड र ओलीबीच शुक्रबार मात्र पटकपटक भेटवार्ता भएको भए पनि दाहालले भने साँझ एक पटकमात्र भेटवार्ता भएको दावी गरे । ‘साँझ प्रधानमन्त्रीसँग भेट भएको हो,’ दाहालले भने । भेटमा प्रचण्डले माओवादी केन्द्र वर्तमान गठबन्धनको सरकारको विपक्षमा जान नसक्ने विषयमा जानकारी गराएको पनि दाहालले बताए ।
पछिल्लो समय सरकार परिवर्तनबारे अनावश्यक टिकाटिप्पणी भएको भन्दै ओलीले दाहलसँग असन्तुष्टि पोखेका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले आफूलाई चित्त नबुझे कि सरकार ढालिहाल्नु, नभए सरकारलाई काम गर्ने वातावरण बनाइदिनु भनी प्रचण्डसँग भनेको स्रोतको दावी छ ।
ओलीले मंसिरमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेपछि मात्र सरकारको नेतृत्वका विषयमा छलफल गर्दा राम्रो हुने बताएका थिए ।
बजेटले पारेको प्रभाव र राष्ट्रियताको खोलका कारण एमालेले स्थानीय निर्वाचनमा बलियो पकड जमाउने भएको र आफ्नै नेतृत्वमा निर्वाचन गराएमा अझ सफल भइने योजनासहित ओलीले प्रचण्डलाई फेरि रिंगाउन थालेको स्पष्ट भएको छ ।












