२३ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री बन्ने योजनामा लागिरहेका वेला पार्टी एकतामा आएका नेताहरु सरकारमा सहभागी हुन नपाउने भएपछि पार्टीभित्रै यसको विरोध भएको छ । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि औपचारिक निर्णय गरेको नेकपा माओवादी केन्द्र वर्तमान सरकार ढाल्ने या नढाल्ने भन्ने विषयमा नेताहरु विभाजित भएका छन् ।
भर्खरै मात्र पार्टी एकताबाट आउने नेताहरुले सरकार परिवर्तनको विषयलाई खासै चासो नदिएको बताइएको छ । एकताबाट आएका पार्टी नेताहरु संसदमा नरहेकोले उनीहरुका लागि यो सरकार ढालेर अर्को सरकार बनाउन कुनै हतार नभएको देखिएको छ ।
आफूहरु भर्खर एकता प्रक्रियामा आएकाले यो विषयमा धेरै नबुझेकेको औपचारिक प्रतिक्रिया उनीहरुले दिन थालेका छन् ।
पार्टी संगठन निर्माणमा निक्कै चिन्तित देखिएका उनीहरुले राष्ट्रिय सहमति कायम गरेर संविधानका राम्रा पक्ष, शान्ति प्रक्रियाको बाँकी काम तथा मधेश आन्दोलनलगायत हल हुनुपर्ने पक्षमा बढी जोड दिएका छन् ।
सरकारकार परिवर्तन गर्न हुन्न भनेर कडा रुपमा यसअघि प्रस्तुत भएका नारायणकाजी समूहले भने अहिले कुनै निष्कर्ष निकाली सकेको छैन । किनभने नारायणकाजीका विश्वासपात्र गिरिराजमणि पोखरेल अहिले शिक्षा मन्त्रालय सम्हालेर बसेका छन् ।
प्रचण्ड पक्षधर नेताहरु भने प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर सरकारमा आफ्नो बलियो स्थान सुरक्षित गर्ने योजनामा लागिरहेका छन् ।












