२२ असार, काठमाडौं । वर्तमान सरकार ढाल्ने योजनासहित नेकपा माओवादी केन्द्रले आज ठोस योजना बनाउन लागेकोमा पार्टीका सांसदको मानव तस्करी काण्डले अवरोध उत्पन्न भएको छ । मंगलबारदेखि जारी माओवादी पोलिट्व्युरो बैठकमा आज सरकार परिवर्तनको ठोस कार्ययोजनमा तय गर्ने निश्चित भएको थियो । तर, वु्धबार प्रकाशित दैनिक पत्रिकाका समाचारका कारण माओवादी केन्द्रको योजना खल्बलिएको छ ।
माओवादी केन्द्रका ८ सांसदले मानव तस्करीका लागि किर्ते सिफारिश बनाएको प्रकरण एक दैनिक पत्रिकामार्फत सार्वजनिक भएपछि माओवादी थप समस्यामा परेको हो । मानवतस्करी र किर्ते काण्डका कारण वुधबारको पोलिट्व्युरो बैठक यही विषयमा केन्द्रित रहेका कारण ओली सरकार ढाल्ने योजना ओझेलमा परेको हो ।
वुधबारको पोलिटब्युरो बैठकले आफ्ना सांसदको भिसा प्रकरण लगायतका विषयमा छानविन गर्न ३ सदस्यी छानविन टोली गठन गरेको छ । छानविन समितिले घटनाबारे अनुसन्धान गरेर पार्टीलाई प्रतिवेदन बुझाउने जानकारी पार्टी प्रवक्ता पम्फा भुसालले दिइन् ।
माओवादी केन्द्रका ८ सांसदले स्पेनमा मान्छे पठाउन कीर्ते सिफारिश बनाएको विषयमा संसद सचिवालय र पार्टीलाई कुनै जानकारी नभएको जानकारी प्रवक्ता भुसालले संचारकर्मीहरुलाई दिइन् ।
माओवादी केन्द्रको पोलिट्व्युरो बैठक विहीबार ११ बजे पुनः बस्नेछ । विहीबार माओवादीलाई समस्यामा पार्ने अर्को समाचार प्रकाशित नभएमा ओली सरकार ढाल्ने कार्ययोजनामाथि छलफल हुने माओवादी केन्द्रका एक उच्च तहका नेताले नेपालदेशडटकमलाई बताए ।













