२२ असार, काठमाडौं । देशका विभिन्न भागमा बाढीपहिरोले पर्याएको क्षति र महिला हिंसाका घटनाबारे संसदलाई जानकारी गराउन सभामुख ओनसरी घर्तीले सरकारलाई निर्देशन दिएकी छिन । वुधबार बसेको संसद बैठक शुन्य समयमा सांसदहरुले बाढी पहिरोले पर्याएको जनधनको क्षति र महिला हिंसाका सम्बन्धमा सवाल उठाएपििछ सम्बन्धित मन्त्रीलाई जवाफ दिन सभामुखले निर्देशन दिएकी हुन् ।
व्यवस्थापिका संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोका कारण प्रभावित जनतालाई राहत र उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका थिए ।
सांसदले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोकको भोटेकोसीमा बाढीका कारण आसपासका मानिस प्रभावित भएको गोरखा, प्यूठानका विभिन्न ठाउँमा पहिरोबाट पीडित भएको जनाउँदै मृतक परिवारलाई क्षतिपूर्ति दिन माग गरे । उनीहरुले बाँकेको सिक्टा सिंचाइ नहर भत्किएको घटनाको छानबिन गर्न पनि माग गरे ।
केही सांसदले तराई–मधेस केन्द्रित दललाई अनशन छाडेर संसद्मै सङ्घर्ष गर्न र वार्तामा आउन आग्रह गर्नुभएको थियो भने केहीले सरकारले नाता र दाताका आधारमा न्यायाधीश तथा राजदूतको सिफारिस गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले पदीय जिम्मेवारी पूरा नसक्ने बताए ।
केही सांसदले विदेश जाने मन्त्रीले आफूखसी मान्छे लगेको, सांसदहरु पनि त्यस्तोमा मुछिएको बारे छानबिन हुनुपर्ने माग गरे । सांसदहरु अतृमतकुमार बोहरा, मोहनबहादुर बस्नेत, कृष्ण धिताल, परशुराम तामाङ, कमला विश्वकर्मा, डिल्लीप्रसाद काफ्ले, दुर्गा पौडेल, हरिचरण साह, चीनकाजी श्रेष्ठ, प्रकाश ज्वाला, बुँदराम थापा, रामहरि खतिवडा, कृष्णभक्त पोखरेलले शून्य समयमा भाग लिएका थिए ।












